क्यानाडामा बसोबास गर्दै आएका विवाहित नेपाली महिलाहरुमा लक्षित व्यक्तित्व, बौद्धिकता, प्रतिभा र सौन्दर्य सम्बन्धीत प्रतियोगिता मिसेस् नेपाल क्यानाडा २०२४ भव्यताका सम्पन्न भएको छ । विवाहित महिलाहरुलाई अझ सबल, सक्षम र सशक्त बनाउने अभिप्राय अनुरुप क्यानाडामै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा सृष्टि श्रेष्ठ अमात्यले पहिलो मिसेस् नेपाल क्यानाडाको ताज पहिरिन सफल भइन् । उनले प्रतियोगितामा फ्रेन्डशीप विधाको अवार्ड पनि जितिन् । महिला शिक्षा तथा क्षमताको विकास समूह, वेस्डो क्यानाडा र नेप्लीज फेसन होम नेपालको संयुक्त आयोजनामा संचालन भएको सो प्रतियोगितामा फोटोजेनिक विधाको अवार्ड सहित अलिशा राजभण्डारीले फस्ट रनर अप तथा रश्मी थापाले सेकेन्ड रनर अपको स्थान प्राप्त गर्न सक्षम भइन् । क्यानाडाको ब्राम्टनस्थित स्परेन्जा ब्याङ्क्वेट हलमा आयोजना गरिएको सो प्रतियोगितामा येमि कर्मचार्यले ट्यालेन्ट र श्याम लिम्बुले पब्लिक च्वाइस विधाको अवार्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका थिए ।

नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङ पढाईमा स्नातक गर्दै गरेका १९औं ब्याचका विद्यार्थी डिजाइनरहरुले तयार पारेको सुन्दर एवं आकर्षक पहिरनहरुमा सजिएर प्रतियोगिताका १० जना फाइनलिष्ट प्रतिस्पर्धीहरुले प्रतियोगिताको मुख्य उपाधिका लागि प्रभावकारी ढंगबाट आ आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । प्रतियोगिताको उत्कृष्ट ६ जनालाई निर्णायक प्रश्नका रुपमा संसारमा के को कमी छ भन्ने प्रश्न गरिएका थियो । जसको जवाफमा ‘आजको संसारमा मलाई सहानुभूति र अरुको भावना र अनुभवलाई महशुस गर्ने क्षमताको कमि छ, हामी एकअर्काको अन्तर सम्बन्ध नै विभाजित हुँदै गरेको संसारमा बस्छौं हिजो आज, जहाँ समझदारी र करुणा धेरै पछाडि छ । समानुभूतिको संस्कृतिलाई बढावा दिएर हामीले एउटा एस्तो ठाउँको सिर्जना गर्नु पर्छ, जहाँ सबैले सुन्ने, बुझने र स्वीकार गर्न, महसुस गर्न सकोस्’ भन्ने उतर दिएर सृष्टि श्रेष्ठले मिसेस् नेपाल क्यानाडा २०२४ को ताज आफ्नो शीरमा सजाउन सफल भएकी हुन् ।

डेपुटी चिफ अफ मिसन रोजिना ताम्राकारको प्रमुख आतिथ्यता रहेको सो प्रतियोगितात्मक कार्यक्रममा प्रोफेसर निरा शर्मा, डा.संगीता धौबडेल, सुभेक्षा भट्ट र निलु केशरी निर्णायकका रुपमा रहेका थिए । कार्यक्रममा स्वागत मन्तब्य वेस्डा अध्यक्ष चन्दा श्रेष्ठले दिएकी थिइन् भने यस्तो कार्यक्रम किन आजको आवश्यता हो भान्ने बारेमा नेपलीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले प्रकाश पारेकी थिइन् ।


