पुरुष सहभागिको व्यक्तित्व, बौद्धिकता, प्रतिभा सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनलको नेपाली संस्करण म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ का लागि दाबेदार नौ जना युवाहरु सार्वजनिक गरिएका छन् । प्रतियोगिता नौ जना फाइनलिष्टलाई ठमेलस्थित क्लब टेनएक्समा आयोजना गरिएको एक कार्यक्रमका वीच प्रस्तुत गरिएको थियो । म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को मुख्य उपाधि दावेदारका रुपमा अभिनव थापा, दिलिप नेपाली, विजय थापा, विनोद श्रेष्ठ, सोहाज खान, सिद्धान्त के.सी., सोयस बलामी, सबल थापा र युनिक तुलाधर गरी नौ जना प्रतिस्पर्धी रहेका छन् ।

म्यानहन्ट इन्टरनेसनलका नेपालको आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इको आयोजना संचालन हुने यो प्रतियोगिताका लागि हाल तयारी र प्रशिक्षण कार्य संचालन भैरहेको छ । सहभागिहरुलाई कम्युनिकेसन तथा स्टेज एटिकेट्सका विविध पक्षमा फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले प्रशिक्षण प्रदान गरेका छन् भने कार्यक्रमको निर्देशक तथा कोरियोग्राफरका रुपमा अग्रज फेसन कोरियोग्राफर अनुप सक्सेनाले जिम्मेवारी सम्हालेका छन् । म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को फाइनल प्रतिस्पर्धा आगामी फागुन १२ गतेका लागि तय भएको छ । प्रतियोगिताका विजेताले आगामी मे महिनामा थाईल्याण्डमा संचालन हुने २२औं संस्करणको म्यानहन्ट इन्टरनेसनल मेल सुपरमोडल २०२४मा नेपालको तर्फबाट सहभागिता जनाउने हुनेछन् ।


