शनिबार राति ठमेल स्थित क्लब टेनएक्स्मा संचालन भएको पुरुष व्यक्तित्व र बौद्धिकता संग सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल मेल सुपरमोडलको नेपाली संस्करण म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को संस्करण सम्पन्न भएको छ । प्रतियोगिता अभिनव थापाले अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि उचाल्न सफल भएका थिए । अब उनले थाइल्याण्डमा आगामी मे महिनामा थाईल्याण्डमा संचालन हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् । अभिनवले खल्ती मिष्टर पपुलर तथा एम्पायर मिष्टर पर्सनालिटीको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाएका थिए ।

प्रतियोगितामा दिलिप नेपाली टेनएक्स मिष्टर फ्रेन्डशीप सहित मिष्टर इन्टरनेसनल नेपाल २०२४ को उपाधि जित्न सफल भए भने युनिक तुलाधर रनर अपका रुपमा चयन भएका थिए । क्लब टेनएक्स्को सहकार्यमा ग्रुुप अफ इभेन्ट इन्टरटेनर्स, जि.र्इं.इ को आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सोयस बलामीले अर्ना मिष्टर ट्यालेन्ट, सिद्धान्त के.सी.ले ज्यासमिन मिष्टर फिजिक र विजय थापाले फोरेन्सिक मिष्टर फोटोजेनिक विधाको अवार्ड जितेका थिए । अग्रज कोरियोग्राफर अनुप सक्सेनाको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगिताका लागि फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले सहभागिहरुलाई स्टेज प्रस्तुतिकरणमा प्रशिक्षण प्रदान गरेका थिए । प्रतियोगितामा अग्रज फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकार, हाउस अफ फेसन नेपालका ओसिमा बानु तथा अभिनेता एवं सुशील श्रेष्ठ निर्णायकका रुपमा रहेका थिए ।


