Saturday 26 September 2026 / शनिबार, १० आश्विन २०८३

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवाका टीकादत्त पाण्डेयलाई झलारी बजारको सडक छेउ ठेलामा बदाम बेच्दै आएको एक दशक बित्नै लागेको छ । बदाम बेचेर आएको रकमले पाण्डेय परिवारको जीविका चल्ने गरेको छ । बिहानै झिसमिसेमै पैदल हिँड्दै पाण्डेय खाना घरबाट बोक्दै झलारी बजार पुग्छन् । ठेलामा बदाम राखेर बेच्छन् ।

“सडक छेउमा बनाएको चुलोमा बदाम भुट्ने गर्छु”, उहाँले भन्नुभयो, “श्रीमतीले बदाम बिक्री गर्छिन् ।” दैनिक २० किलोदेखि ४० किलोसम्म बदाम बिक्री हुने गरेको उहाँको भनाइ छ । पाण्डेय दम्पतीले दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी गर्दछन् ।

महँगो भएपछि बदाम बिक्री घटेको पाण्डेय दम्पतीको भनाइ छ । प्रतिकिलो रु दुई सयका दरले खरिद गरेको बदाम रु तीन सयका दरले बिक्री हुने गरेको छ । हिउँदमा बदाम बढी बिक्री हुने गरेको छ ।

यस व्यवसायबाट कमाएको रकमले पाण्डेय दम्पतीले घरखर्च चलाउने गरेका छन् । “ठेलाकै कमाईले घर बनाएँ, परिवारवारको खर्च धानेको छु”, उहाँले भन्नुभयो, “अरुसँग हात थाप्नुपरेको छैन, पौरख गरेर जीविका चलाउँदै आएका छौँ ।”

विसं २०६८ मा सहकारी संस्थाबाट रु २० हजार कर्जा लिएर पाण्डेयले ठेला व्यवसाय सुरु गर्नुभएको हो । व्यवसाय सञ्चालन गरेको एक वर्षमै सहकारीबाट लिएको कर्जा तिरेर उहाँले नाफा भएको रकम लगानी गरी व्यवसायलाई निरन्तरता दिनुभएको हो । हिउँद सकिएपछि पाण्डेय दम्पतीले ठेलामा फलफूल बेच्ने गर्छन् ।

फलफूलका धेरै पसल भएकाले प्रतिस्पर्धा बढी हुने गरेको पाण्डेय दम्पतीको भनाइ छ । “थोरै लगानी गरेर सञ्चालन गरेको व्यवसायबाट पनि जीविका चलाउन सकिने रहेछ”, पाण्डेय दम्पती भन्छन् । नगरपालिकाले व्यवसाय गर्ने ठाउँ किटान गरिदनुपर्ने उहाँहरुको माग छ । पछिल्लो समय झलारी बजार क्षेत्रमा ठेलामा व्यवसाय गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय