काठमाडौं, आगामी चैत २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बद्री बहादुर’को गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ‘पुलिस दाइ’ बोलको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री पूजा शर्मा, अभिनेता सलोन बस्नेतको साथमा फिल्मका मुख्य कलाकार जयकिशन बस्नेत, राजीव बस्नेत र छुल्ठिम गुरुङलाई फिचर्ड गरिएको छ । पूजा र सलोन फिल्मको यही गीतमा मात्रै देखिनेछन् । उनीहरुले फिल्ममा विशेष भुमिका निर्वाह गरेका हुन् । गीतमा शिवम अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत छ । टंक बुढाथोकी र मिलन नेवारले गीतमा स्वर दिएका छन् । शिव विकको कोरियोग्राफी रहेको भिडियोमा विनोद सापकोटाको छायांकन छ ।
सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन–सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन् । शोभित बस्नेत निर्देशित फिल्ममा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईंको मुख्य भूमिका छ ।
फिल्मको पटकथा लेखन रामकाजी घिमिरेले गरेका हुन् ।


