सृजना, प्रस्तुति तथा मेकिङको दृष्टिले नेपाली फेसन परिवेशको उत्कृष्ट एवं प्रतिक्षित फेसन कार्यक्रमहरु मध्येका रुपमा परिचय बनाएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ग्राजुएसन फेसन शोको पछिल्लो संस्करण अन्तिम तयारीमा पुगेको छ । १८औं संस्करणको रुपमा प्रस्तुत गरिने जर्नी अफ फेसन अन्तर्गत यस पटकको फेसन कार्यक्रम ‘निर्मिति नव्यता’ शीर्षकमा अनुभव गर्न पाइनेछ । आगामी चैत २५ गते आइतबार साँझ राजधानी शहरको बौद्धस्थित होटल हायात रिजेन्सीमा यो फेसन कार्यक्रमको भव्य रुपमा प्रस्तुति रहनेछ । कार्यक्रममा ८ वटा विभिन्न अवधारणाबाट प्रेरित ७९ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनहरु प्रदर्शन गरिनेछन् । जसका लागि महिला पुरुष गरी ३२ जना मोडलहरु ¥याम्पमा प्रस्तुत हुने छन् । उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १८ औं ब्याचका ७१ जना विद्यार्थी डिजाइनरहरुको जिम्मेवारीमा सम्पन्न हुनेछ । यो फेसन शो पूर्वाञ्चल विश्वविद्यालयको ब्याचर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्ट, बिएफडिएम कार्यक्रम अन्तर्गत आठौं सेमेस्टरको फेसन शो पाठ्यक्रमको शैक्षिक आवश्यकताको एउटा भागको रुपमा डिजाइन गरिएको हो र फेसन शो प्रस्तुति आफैंमा परिक्षाको स्वरुप रहेको छ ।


