Tuesday 19 May 2026 / मंगलवार, ५ जेष्ठ २०८३

काठमाडौं, सृजना, प्रस्तुति तथा मेकिङको दृष्टिले नेपाली फेसन परिवेशको उत्कृष्ट एवं प्रतिक्षित फेसन कार्यक्रमहरु मध्येका रुपमा परिचय बनाएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ग्राजुएसन फेसन शोको पछिल्लो संस्करण शानदार रुपमा सफल अवतरण प्राप्त गरेको छ । उक्त फेसन शोको उडानलाई निर्मिति नव्यता नामाकरण गरिएको थियो । १८औं संस्करणको रुपमा प्रस्तुत भएको जर्नी अफ फेसन अन्तर्गत यस पटकको फेसन कार्यक्रम चैत २५ गते आइतबार साँझ राजधानी शहरको बौद्धस्थित होटल हायात रिजेन्सीमा सम्पन्न भएको थियो ।

नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थिति संगैं शुभारम्भ भएको उक्त ग्राजुएसन फेसन शो निर्मिति नव्यता शीर्षकमा सम्पन्न भएको थियो । शान्ति र समृद्धिको सुन्दर संयोजनमा डिजाइन गरिएको सकरात्मकता, स्वाबलम्बन, सीप र शिक्षाको भाव झल्किने डिजाइनर साडीमा उपस्थिति दर्शाएकी ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिलाई शान्ति र समृद्धिलाई झल्काउने विविध तत्वबाट प्रेरित पहिरनमा सजिएका मोडलहरुले साथ दिएका थिए ।

चार वर्षको ब्याचर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्टको अन्तिम सेमेष्टरको पढाई अन्तर्गतको प्रयोगात्मक परिक्षाको एउटा महत्वपूर्ण पाटोको रुपमा रहेको ग्राजुएसन फेसन शोमा यस पटक मिस्टिकल क्रिएचर अवधारणामा योकाई, फ्रुटि टोन्स अवधारणमा अलंकृत फल, चेन चिक इन डेनिम कुटर अवधारणामा जेन मेराकी, हार्मोनिया भेस्टिस अवधारणामा हार्मोनिया भेस्टिस, फजेज् अफ प्रिसिपिटेसन अवधारणामा मिड नाइट रेन, ¥याडिएन्ट रिफ्लेक्सन अवधारणामा आर्ट डेको ग्ल्याम, म्याक्रोम अवधारणामा रग एल्युर तथा फ्रस्टी फ्लोरिसेस् अवधारणामा फ्रस्टि अरा गरी ८ वटा विविधता युक्त अवधारणामा पहिरनहरु प्रस्तुत गरिएका थिए ।


हरेक राउन्डको अन्तिम सृजना, कल्पना, मिहेनत र मेकिङ अद्भुत समायोजन भएका क्रिएटिभ वेयरले रनवेमा उपस्थिति जनाएको थियो । जसअन्तर्गत मोडलहरुले क्रिएटिभ वेयर तथा सोही क्रिएटिभ वेयरको मिनि भर्सन अर्थात् डल डे«ेस स्वरुप पनि एक साथमा अनुभव गर्न पाइएको थियो । यो फरक समायोजन र प्रस्तुतिले उपस्थित फेसन पारखीहरुका माझमा थप रोमाञ्चता संचार गरेको देखिन्थ्यो ।

२३ जना युवती मोडलहरु र ९ जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न हुने उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १८औं ब्याचका ७१ जना विद्यार्थी डिजाइनरहरुको आयोजन, व्यवस्थापन तथा प्रस्तुतिको समग्र जिम्मेवारीमा सम्पन्न भएको थियो । कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका हुन् । कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित फेसन क्याटलग तेस्रो संस्करणलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. शैलेश मणि पोखरेल, रजिष्ट्रार निलमणी पोखरेल, व्यवस्थापन संकायका डीन डा. सन्देश डास श्रेष्ठ, एग्ज्याम कन्ट्रोलर बलेन्डु हमाल तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।

सृजनशीलता र कल्पनाशीलतामा निखारिएका अनुपम एवं उत्कृष्ट फेसन शैलीहरु पदार्पण भएको नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा निर्मिति नव्यता शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो ।

उक्त परिक्षा रुपी फेसन शोमा फेसन अध्यापकद्वय राजेन्द« सिंह र कुश्मा श्रेष्ठ, फेसन डिजाइनरद्वय अनु श्रेष्ठ र सविना चौधरी, साखः ग्रुपका अध्यक्ष किरण साखः, राष्ट्रिय सीप परिक्षण समितिका कार्यकारी निर्देशक डा. कुल बहादुर बस्नेत, प्रोफेसर डा. जया प्रधान तथा उद्यमी व्यवसायी एवं पियर क्लोदिङका संस्थापक अध्यक्ष पशुपति देव पाण्डे निर्णायकको भूमिका निर्वाह गरेको थिए । करिब तीन घण्टा फेसनमय बनेको सो कार्यक्रममा भारतीय राजदूतावास, बंगालदेशी राजदूतावास तथा भारत नयाँ दिल्ली स्थित नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलजी, एनआईएफटीका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय