पारलैङ्गिक महिलाहरुको सबलीकरण र सशक्तिकरणमा केन्द«ीत मिस पिन्क नेपाल २०२४ फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा अनमोल राईले मिस पिन्क नेपाल २०२४को ताज पहिरिन सफल भएकी छिन् । नगद पुरस्कार रु एक लाख संगै थाईल्याण्डमा वर्ष २०२५मा सम्पन्न हुने मिस इन्टरनेसनल क्वीनमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेकी छिन् । ब्लु डायमण्ड सोसाइटीको आयोजनामा सम्पन्न सो प्रतियोगितामा नेपालका लागि युएन रेसिडेन्ट कोर्डीनेटर हाना सिंगरको प्रमुख आतिथ्यता रहेको थियो ।
१८ जना प्रतिस्पर्धीहरुको सहभागितामा संचालन भएको सो प्रतियोगितामा अनमोल फोटोजेनिक र क्रिएटिभ ड्रेस विधामा पनि विजेता चयन भएकी थिइन् । प्रतियोगितामा नगद पुरस्कार रु ७५ हजार सहित सरोजी न्योपाने फस्ट रनर अप बनिन् । उनले ट्यालेन्ट र वेष्ट वाक विधामा पनि आफूलाई उत्कृष्ट देखाउन सफल भएकी थिइन् । प्रतियोगितामा आरोही बस्नेतले सेकेन्ड रनर अप स्थान प्राप्त गर्न सफल भइन् । मिस ब्युटीफुलको उपाधि भने सायरा गुरुङले प्राप्त गरिन् । जमलस्थिट राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगिताको कोरियोग्राफी अजय गुरुङले गरेका थिए भने कार्यक्रमको संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका हुन् ।


