राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघर डबलीमा सम्पन्न भएको एस अफ एसईइ नामक मोडलिङ सम्बन्धी प्याजेन्टमा सक्षम जंग थापा र आरोही अधिकारी विजेता चयन भएका छन् । विजेताका रुपमा सक्षम र आरोहीले क्याप्चर फोटोग्राफीका तर्फबाट नगद पुरस्कार जनही रु पचास हजार प्राप्त गरेका छन् । दुवै विजेताले हिमालय कलेजको प्लस टू अध्ययनमा पूर्ण छात्रवृक्ति, फेसन डिजाइनर सोनम सुब्बा लिम्बुले तयार पारेको रु एक लाख बीस हजार मुल्य पर्ने डिजाइर पहिरन, भिजनरी मोशन स्टुडियोको तर्फबाट साठी हजार बराबरको फ्यामिली फोटोशुट, आईटिसीको तर्फबाट निःशुल्क मेकअप सम्बन्धी तालिम तथा नेपाल एयर होस्टेस् एकेडेमीमा छात्रवृक्ति प्राप्त गरेका छन् ।

आरोही एस अफ एसईइको विजेता बनेसंगै मिस टिन इन्टरनेसनलमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर पनि प्राप्त गरेका छन् । आरोहीले प्रतियोगितामा फ्रेन्ड्ली, पर्सनालिटी, पब्लिक च्वाइस र पपुलर विधाको अवार्ड पनि जित्न सफल भइन् भने सक्षमले एस फिजिक विधाको उपाधि हात पर्न सफल भएका थिए ।

क्याप्चर फोटोग्राफीको आयोजनामा सम्पन्न उक्त प्रतियोगितालाई हिमालय कलेजले प्रोमोट गरेको थियो । प्रतियोगितामा रचित श्रेष्ठ र दिलासा अधिकारी फस्ट रनर अप तथा अमुल्य भण्डारी र आरजु कार्की सेकेन्ड रनर अप छानिएका थिए भने अर्गनाइजर च्वाइस अवार्डमा अभिन्न श्रेष्ठ र रिया दर्नाल विजेता चयन गरिएका थिए । अभिनेता गौरव पहारी मुख्य अतिथि रहेको सो कार्यक्रमको निर्देशन पबिन्द« श्रेष्ठले गरेका थिए ।

रोहन श्रेष्ठको कोरियोग्राफीमा कार्यक्रम सम्पन्न सो प्रतियोगितामा १७ किशारी तथा ११ किशोरको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।


