सन्जिल खनाल
सानो हुँदालाग्ने एउटा ठूलो कुरा, ठूलो हुनु ।
कत्रो ठूलो ? काकाजत्रो ठुलो , बुबाजत्रो अग्लो, अनि मामा जस्तै मोटो ?
ठूलो हुन मनलाग्नुको खासै ठुलो कारण भने थिएन । बसमा अरुको काखमा वस्नुपर्ने, चकलेट किन्न बुबाको गोजी हेर्नुपर्ने , आफुले चाहेको ठाँउमा जान नपाउने, अझ कपाल काट्ने ठाँउमा त पालो सधै अन्तिममा । हो, ठूलो भएपछि न अरुले फुच्चे भनेर हेप्छन न दश किलोको झोला भिरेर स्कुल नै जानु पर्छ, न गृहकार्य गर्नुपर्छ “आहा” ठूलो हुन सच्चीकै रमाइलो होला ।
सानो छँदाकोे रहरले हो या सामयको लहरले म ठूलो हुँदै गए । उमेरले, शरिरले सायद दिमागले पनि । अनि थाहा पाउँदै गएँ ठूलो हुन थुप्रै लडाँइ लड्नु पर्ने रहेछ , मेरो जिवनको पहिलो लडाँई थियो दाँया चप्पललाई दाँया र वाँया चप्पललाई वाँयागोडामै सफलतापुर्वक लगाउनु । सफलता चान्चुनको कहाँ थियो यो समयमा ? बस् सफल हुन सिकियो सिकाइयो समाज, परिवार र आफै भित्रबाट । पसल गएर सामान किन्न सक्नु, जुत्ताको तुनाआफै वाध्नु , स्कुल एक्लै जानु सानो वेलाका ठूलो सफलता नै त हुन ।
आहा ! यस्ता काम गर्न सक्नु, हो म अझ सफल हुँदै गएँ, साँच्चै म ठुलो हुँदै गएँ, । हजुरबाका सेता दाह्री फाल्ने जिलेटको बिलेटले पाखामा गएर गाला तिखार्दाको असफलता अहिले बढेको दाह्रीले छोपिन्छन, र त भनिन्छ गालामा दाह्री काँधमा जिम्मेवारी, हो म ठुलो हुँदै थिँए ।
घरको कोठाको ढोका पछाडीे किलामा झुन्ड्याएको खैरो पाइन्ट कम्मर र लम्बाइ बाहेक ठिक हुँदै गर्दा म सोच्थेँ , ठुलो भएँ, बुबा जत्रै । उमेर, उचाइ, मोटाइ बढ्दै गयो रमाउँदै गएँ । आफ्नो काम आफै गर्न सिक्दा नसिक्दै आफन्त र परिवारको हेरविचार गर्न सिकेको पत्तो भएन । पसलबाट भान्साको सामान ल्याउन आमालाई सघाउन, बुबाको कार्यालयको सामान मिलाएर राख्न , हजुुरबाको खोकीको त्यो गुलियो औषधी किन्न र हजुरआमालाई प्रेसर जचाउन लान सक्ने भएछु ।
फुच्चे केटाबाट २० वर्ष पुग्दै गर्दा आफ्नो कामका साथै परिवार र आफन्तको हेरविचार गर्न सिकि सकिएछ कति रहरले त कति वाध्यताले । यस्तै रहर र वाध्यताको विच फुच्चेबाट केटा, केटाबाट भाइ, भाइबाट दाइ अनि दाइबाट काका वन्न धेरै कुर्नु परेन ।
रम्दै गएँ, ठुलो हुँदै गएँ काका जत्रै ।
रम्दै गर्दा, ठुलो हँुदै जाँदा विस्तारै जिम्मेवारी पछ्याएको पत्तो भएन । उमेर २० को अङ्कललाई पछाडी पार्दै २५ तिर अगाडी सर्न थाल्यो, ठुलो हुनुकोे अनौठो अनुभव सुरु हुनथाल्यो । अब १५, १६ बर्षे बेलाका रहर वाध्यतामा, वाध्यताहरु जिम्मेवारिमा र जिम्मेवारिहरु चुनैतिको रुपमा अगाडी आउन थाले । अब फुच्चे ठुलो हँुदै जाँदा सफलताको परिभाषा पनि ठुलो हँुदै गयो । २५ बर्षे उमेरमा चुनौति र सफलताको परिभाषमा केहि परिमार्जन भैसकेछ । सफलता चुनौति चिर्नुमा रैछ , अनि थाहा हुँदै गयो ,चुनौति नि सधै र सबै चिर्न नसकिने रहेछ ।
यस्तै चिर्न नसकेका चुनौतिका चिराहरुले आइपरेका उतारचढावका सिँडीहरु चढ्दै अनुभव लिँदै लढ्दै उठ्दै अघि बढ्न समयले नै सिकाउँदौ रहेछ । जिवनकाप्रत्येक साना ठूला चिराहरु जिवनको भोगाई र अनुभव भएर वस्ने रहेछन जसले जिवनको कुनै उमेरको उचाईमा पुगेर तल हेर्दा ओठमा मुस्कान छरेर जाँदा रहेछन ।
२५ वर्षको उतारचढाव अनुभव कम भएरै हुँदो हो यो उमेरमा समयले लिने धेरै परिक्षामा अनुत्तिण हुने गर्छाै । २५ को उमेरले हामिलाई स्वागतगर्दै गर्दा विध्यार्थी जिवनलाई भने हामिमध्ये धेरैले विट मारिसकेको हुन्छा,ैं धेरैको रहरले त कतिको वाध्यताले । औपचारिक शिक्षाको विषय सुचिमा कहिल्यै अट्न नसकेको व्यवहारिक शिक्षाको सुरुवाति अवस्था रहेछ उमेर २५ । आफुलाइ मन परेको चेक सट किन्न बुबाको अगाडि कपाल सुम्सुम्याउनु पर्ने रहेछ उमेर २५ । विध्यार्थी जिवन सकेर व्यवसायिक जिवन भरखरै सुरु गरेका र गर्र्न खोजेका धेरै २५ वर्षे युवाका लागि आर्थिक व्यवस्थापन ठूलो चुनौतिपुर्ण हुने रहेछ । अहिले सम्म परिवारको छायाँमा हुर्केको केटो अव परिवार र समाजको टेको वन्ने वेलाआएको हुने रहेछ ।
कपालमा कपास देखिन थालेको बाबु आमाका गोडाहरुमा २५ वर्षे सन्तान पक्कै पनि दरिलो टेको बनिदिन्छ भन्ने आस पावरवाला चस्मा भित्रका आँखामा प्रष्ट देखिन्छन् । देखिदा सुन्दर तर संक्रमणकाल जस्तो उमेर २५ । सायद आफ्नो वाँकी उमेर कस्तो विताउने भन्ने कुरा यहि २५ बर्षे ठिटोले यही अवस्थामै गर्नु पर्छ हामी धेरैले ।
अझ अस्थाई जिवनको स्थायित्व खोजिमा दैडिरहेका हुन्छन २५ बर्षे ठिटाहरु । देशको सिमा रक्षाका लागि देखिने भिड होस या अन्तराष्ट्रिय खेलमा देखिने जमात , या त Enought is Enought को ताँतिमा २५वर्ष हराहारिकै युवाको वचश्व धेरै हुने गर्दछ ।
पुर्खाले रचेका इतिहासका कुराले होस या राष्ट्रप्रेमि गितले ,या त टिभिमा देखिने सुनिने देशका अवस्थाका कुराले कान टाठो, रौं ठाडा र छाति फराकिलो नहुने २५ वर्ष युवा कमै हुन्छन । राहधानि बिभागको गेट देखी लोक सेवाआयोगको विज्ञापनमा भिड, २५ वर्षे युव नै धेरै हुन्छन । १० हजारको जागिरको लागि १० औं पटक अन्तरवार्तामा अनुत्तिर्ण भएपछि १० हजारमा घरमा आउने नियुक्त पत्रमा लेखेको ति शब्दले के अर्थ राख्ला २५ बर्षे युवाको सोचमा ?
विगतको अझ छुटदै जाने कुराहरुको सम्झना र माया धेरै हुने रहेछ । विध्यालयको चौरमा बसेर गाएको राष्ट्रिय गाना, पढेने कोठा, सर मिस, क्यारामबोर्ड खेल्दाका साथी, गुच्चा, चुङ्गी, देउसी भैलौ सम्झदा मात्र पनि प्रेमले मन आ हा हुन्छ ।
२५ को उमेर यौवनको मध्यविन्दु हो वा यौवनको सुरुवात ठक्यौ भन्न त गाह्रो होला तर यौवनको शुरुवातका ती दिनको भुललाई राम्रो सँग केलाउन र निफन्न सकिने उमेर चाहि पक्कै हो । प्रेम र आर्कषण फरक हुन भन्ने जान्न, समयको लहरले लगभग २५ कै हाराहारिमा सिकाउदो रहेछ । २५ वर्षको वयस्क चौतारिमा वसेर १९÷२० वर्षको उमेरमा भएका आकर्षणलाई प्रेम सम्झेर गरेका भूलहरु सम्झदा कताकता काउकुति र ओठमा मुस्कान एकै साथ आउने रहेछ ।
मानिसको उमेर र खोलाको पानि उस्तै हुन वहावको हिसाबले दुवै अविरल अनि प्राकृतिक पनि । खोलाको पानिले जति दुरी तय गर्याे त्यति नै कञ्चन, शुद्ध हुन्छ । सायद मानिसको उमेरले पनि दुरी तय गर्दै जाँदा मानसिक कन्चनता र व्यवहारिक उदारता प्राप्त गर्दछ होला । उमेर २५ लाई टेकेर हेर्दा अबचाहि म भन्न सक्छु, जिवन एक अविरल प्रक्रिया हो । जिवन चक्रमा मासिकेका कुरालाई नै जिवन जिउने औजार वनाउन सके २५ को संक्रमण सजिलै चिर्न सकिँदो हो ।


