थाईल्याण्डको राजधानी शहर बैंककमा नोभेम्बर ९ देखि १६ सम्म संचालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टस्मा नेपाली युवा युवतीहरुलाई विभिन्न विधामा सफलता प्राप्त भएको छ । सो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशंसा बुढाथोकीले हेरिटेज जेम्स युनिभर्सको ताज पहिरिन सफल भएकी छिन् । वसन्त लामिछानेले मिष्टर हेरिटेज युनिभर्सको उपाधि उचालेका छन् भने मनिशा राजवंशीले हेरिटेज पेटाइट युनिभर्सको ताज पहिरिएकी छिन् ।

यसैगरी सुश्मिता श्रेष्ठले एमएस हेरिटेज इन्टरनेसनल विजेताको ताज पहिरएकी छिन् । प्रतियोगिताको मिस तर्फ सहभागि भएकी एलिसा लो टुरिजम एम्बेसडरका रुपमा चयन भइन् भने उनलाई मिस वेष्ट स्माइल र मिस फोटोजेनिक अवार्ड पनि प्राप्त भएको थियो ।

उक्त कार्यक्रममा शिशिर लामिछानेलाई ग्राण्ड हेरिटेज रनवेका लागि एम्बेसडर घोषणा गरिएको थियो । हेरिटेज इन्टरनेसनलमा प्रोमोटिङ सलुसन मार्फत् नेपालको तर्फबाट सहभागिता जनाएका उनीहरु नेसनल डाइरेक्टर प्रमिला सिलवाल तथा ईभेन्ट निर्देशक रमेश शाहीको नेतृत्वमा थाईल्याण्ड पुगेका थिए ।

सहभागि नेपाली युवायुवतीहरु मोडल सुपरस्टार नामक प्रतियोगिताका विभिन्न उपाधि विजेताहरु हुन् । जस मध्ये बसन्त लामिछाने र प्रशंसा बुढाथोकी मोडल सुपरस्टारका विजेता हुन् भने सुश्मिता श्रेष्ठ, एलिशा लो र मनिशा राजवंशी अर्गनाइजर च्वाइस विधाका विजेता हुन् । नेपाली सहभागिहरुको विभिन्न पहिरनहरु फेसन डिजाइनर समिक्षा लामिछानेले तयार पारेका थिए ।



