काठमाडौं, अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भएका छन्।‘प्रसाद २’ बाट विपिन कार्की सर्वश्रेष्ठ अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्राप्त गरेका हुन् । चलचित्र विकास बोर्डको आयोजनामा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ समारोहमा पुरस्कार वितरण गरिएको हो।
फिल्म ‘बुलाकी’लाई सर्वश्रेष्ठ चलचित्रको पुरस्कार प्रदान गरिएको छ । सर्वश्रेष्ठ निर्देशकको अवार्ड निश्चल बस्नेतलाई फिल्म ‘दिमाग खराब’का लागि प्रदान गरियो । सर्वश्रेष्ठ पटकथा लेखन तथा संवादमा ‘बुलाकी’बाट राजबहादुर साने, ‘बुलाकी’बाटै शिव ढकाल सर्वश्रेष्ठ छायाकार र ‘महाजात्रा’बाट मित्र डी गुरुङ सर्वश्रेष्ठ सम्पादकमा पुरस्कृत भए ।
फिल्म ‘जारी’ले सर्वश्रेष्ठ व्यावसायिक सफल फिल्मको अवार्ड पायो । यसैगरी ‘टुल्की’बाट स्वस्तिमा खड्कालाई जुरी प्रोत्साहन अवार्ड प्रदान गरियो ।


