काठमाडौं, यतिखेर कोभिड १९ को महामारीले समग्र विश्व नै आक्रान्त बनेको अवस्था छ । नेपाल पनि यसबाट अछुतो छैन । कोभिड १९ को दोस्रो लहरको चपेटामा परेदेखि नेपालको स्वास्थ्य क्षेत्रले गंभीर जटिलताको सामना गरिरहनु परेको छ । कोभिड १९ का संक्रमितको उपचारमा आवश्यक मानिएको अक्सिजनको चरम अभावबाट अहिले प्रायः अस्पतालहरु गुज्रिरहेका छन् । यही कारणले पनि कतिपय संक्रमितहरुको ज्यान गएको छ भने धेरैको ज्यान जोखिममा पर्न थालेको छ । 
यसै सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता एवं विभिन्न इभेन्टहरुको व्यवस्थापनमा आफ्नो बलियो उपस्थिति देखाउँदै आएको इभेन्ट बेटर ग्यालेक्सीले यो विषम परिस्थितिमा अक्सिजन सिलिन्डर जोहो गर्नमा तत्परता देखाएको । कुलेश्वर योङ गाइजको सहकार्यमा इभेन्ट बेटर ग्यालेक्सीका प्रमुख धीरज तण्डुकार अक्सिजन सिलिन्डर संकलन गरेर त्यसमा अक्सिनजन भर्दै आवश्यक परेकाहरुलाई सहयोग गर्नमा जुटेका छन् । धीरजको यो अभियानामा दिपेन्द« के.सी., सानु राजा महर्जन र दिपेन्द« श्रेष्ठको साथ प्राप्त रहेको छ । हालसम्म आफूहरुले कुलेश्वर, सानेपा र बल्खुका विभिन्न स्थानहरुबाट साठी भन्दा बढी अक्सिजन सिलिन्डर संकलन गरेको र तिनमा अक्सिजन भरेपछि तिनको वितरण गर्ने धीरजले जानकारी गराएका छन् । 
आर्थिक अभावका कारण अक्सिजन नपाएर ज्यान जोखिममा परेकाहरुलाई प्राथमिकतामा राखेर निःशुल्क अक्सिजन उपलब्ध गराउने अभियानमा लागेका धीरजका अनुसार अक्सिजन सिलिन्डर संकलन गर्ने कार्य जारी रहेको र आवश्यकता परेकाहरुलाई निरन्तर सहयोग गर्ने उनले बताएका छन् ।


