Friday 28 August 2026 / शुक्रबार, १२ भाद्र २०८३

काठमाडौँ, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी खेले । उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए । आशिफ शेखले १९ बल खेल्ने क्रममा चार चौका र दुई छक्कासहित ३३ रनको योगदान दिए । हर्ष थाकरले २४ बल खेल्दै दुई छक्काको साहरामा ३० रन बनाए । साथै मोहम्मद मोहसिनले नौ र जिमी निशमले चार, आकाश त्रिपाठीले दुई र मयन यादवले दुई रन बनाए ।

सुदूरपश्चिमका लागि सैफ अलि जेब, इशान पाण्डे, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलेइनले समान एक/एक विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । उसका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत दिलाए । उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए । साथै बिनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले ।

साथै ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने स्कट कुग्गेलेइनले १३ रन बटुले । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन/तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक÷एक विकेट लिए ।प्रतियोगिताको उपाधि विजेताले ट्रफीसहित रु एक करोड १० लाख र उपविजेताले रु ५१ लाख, तेस्रोले रु २५ लाख र चौथो हुनेले रु १५ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय