काठमाडौँ , प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई नेकपा माओवादीमा ल्याउन आफू बाधक नभएको बताएका छन् ।सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा शर्माले विप्लव र आफूबीच फाटो ल्याउन विभिन्न भ्रम छरिएको स्पष्ट पारे । पार्टीले २०६६ तिर विद्रोह र चुनावको दुई धारे नीति अवलम्बन गर्नु कमजोरी भएको उनले प्रष्ट पारे ।
‘२०६६ सालतिर पार्टीले विद्रोह र चुनावको कार्यनीति अगाडि सार्नु कमजोरी थियो । त्यतिबेला विद्रोह बुझ्नेले विद्रोह बुझ्यो । चुनाव बुझ्नेले चुनाव बुझ्यो । विप्लवजीले विद्रोह बुझ्नु भयो र आफ्नो बाटो लाग्नुभयो’, उनले भने, ‘हाम्रो बिचमा कालो बादल लगाउने विषयमा प्रयत्न गरिएको थियो । त्यो सही होइन । माओवादी पुनर्गठनको अभियान आफैले थालेको हुँ । विप्लव र मेरोबिचमा राम्रो सम्बन्ध छ । विप्लव र माओवादी एकताबिच बाधकका रूपमा पनि चर्चा गरियो। ती सबै कुरालाई कपिलवस्तु र हरिसिद्धिमा पुगेर खारेज गरिसकेको छ ।’


