Wednesday 26 August 2026 / बिहीबार, ११ भाद्र २०८३

ब्रम्हाण्ड सुन्दरी चयन गर्ने प्रतियोगिता अर्थात् मिस युनिभर्सको ६९औं संस्करण गए राति सम्पन्न भएको छ । विश्वका ७४ मुलुकका सुन्दरीहरु वीचको उपाधि दौडमा मेक्सिकोकी आन्द्रिया मेजाले मिस युनिभर्स २०२० को ताजलाई आफ्नो शीरमा सजाउन सफल भइन् । आन्द्रियाले टप फाइभ भित्र पर्न सफल ब्राजिल, पेरु, भारत र डोमिनिकन रिपब्लिककी सुन्दरीहरुलाई आफूलाई अब्बल प्रस्तुत गर्न सफल भएसंगै ६९ औ सस्करणको मिस युनिभर्स प्रतियोगिताको विजेता बनेकी हुन् । यस अघि २०१७ मा मिस मेक्सिको बनेपछि मिस वल्र्ड २०१७ मा सहभागि भएर फस्ट रनर अप सम्मको यात्रा तय गरेकी २६ वर्षिया आन्द्रिया मिस युनिभर्सको ताज जित्ने तेस्रो मेक्सिन सुन्दरी बनेकी छिन् । यस अघि मेक्सिन सुन्दरीहरु लुपिता जोन्सले सन् १९९१मा र जिमेना नाभारेटीले सन् २०१० मा मिस युनिभर्सको ताज पहिरिएका थिए ।
मिस युनिभर्स प्रतियोगिताको विभिन्न प्रिलिमिनरी राउन्डमा भएको सहभागिहरुको प्रस्तुतिको मुल्यांकनको आधारमा फाइनल प्रतिस्पर्धाको साँझ प्रतियोगिताको ओपनिङ प्रस्तुति पछि उत्कृष्ट २१ जनाको घोषणा गरिएको थियो । त्यसपछि टप ट्वेन्टी वन् प्रतिस्पर्धी स्वीम सुट राउन्डमा प्रस्तुत भए । त्यसपछि टप टेन सेमिफाइनलिष्ट चयन भए । टप टेन भित्र अष्ट्रिेलिया, कोस्टारिका, जमैका, पिअर्टो रिको, भारत, पेरु, ब्राजिल, डोमेनिकन रिपब्लिक, थाईल्याण्ड र मेक्सिकोका सुन्दरीहरु पुग्न सफल भएका थिए । टप टेन सुन्दरीहरुको सोलो इभिनिङ गाउन पर्फमेन्स पछाडि टप फाइभ छनौट भए । टप फाइभ सुन्दरीहरुले पहिलो चरणमा निर्णायकहरुका्े प्रश्नको सामना गरे भने दोस्रो चरणमा दिइएको विषयवस्तुमा आफ्नो धारणा प्रस्तुत गरेर मिस युनिभर्स उपाधिका लागि आफ्नो दाबेदारी दिएका थिए । दुवै चरणको अभिव्यक्तिका लागि ३० सेकेन्डको समय तोकिएको थियो ।
अमेरिकाको फ्लोरिडा राज्यस्थित हलिउडमा रहेको सेमिनल हार्ड रक एण्ड क्यासिनोमा सचालन भएको मिस युनिभर्स २०२० को ग्राण्ड फिनालेमा ब्राजिलकी जुलिया गामा फस्ट रनर अप, पेरुकी जानिक मकिता सेकेन्ड रनर अप, भारतकी एड्लिन कास्टेलिनो थर्ड रनर अप तथा डोमिनिकन रिपब्लिककी किम्बर्ली जिमेनिज फोर्थ रनर अपका रुपमा चयन भएका थिए ।
मिस युनिभर्स २०२० की ताज विजेता २६ वर्षिया आन्द्रिया मेजा सफ्ट वेयर इन्जिनियर हुन् । पाँच फिट ११ इन्च अग्लो शरीरकी आन्द्रिया मोडल र सर्टिफाइड मेकअप आर्टिष्ट समेत हुन् ।
मिस युनिभर्स २०२० मा नेपालको तर्फबाट मिस युनिभर्स नेपाल २०२० को विजेताको रुपमा अशिका शर्माको सहभागिता रहेको थियो । मिस युनिभर्सको ग्राण्ड फिनाले पूर्व अन्तर्राष्ट्रिय प्रतियोगिता संग सम्बन्धीत विभिन्न सोसल मिडिया प्लेटफर्ममा अंशिका उपस्थिति र प्रस्तुतिबारे राम्रै चर्चा भएता पनि ग्राण्ड फिनाले भने उनको सहभागिता उपस्थितिमा मात्र सीमित रहन पुग्यो । यस अघि मिस युनिभर्समा नेपालको तर्फबाट नगमा श्रेष्ठ, मनिता देवकोटा र प्रदिप्ता अधिकारीले नेपालको प्रतिनिधित्व गरेका थिए । जसमध्ये मनिताले मिस युनिभर्स २०१८ मा टप टेन सम्मको यात्रा तय गरेर इतिहास रच्न सफल भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय