सुन्दर र सृजनशील कल्पनाले जब सीप, कला र मिहेनतको सही संयोजन प्राप्त गर्दछ तब एउटा आकर्षक पहिरन तयार हुन्छ र त्यही आकर्षक पहिरन सृजना गर्ने सृजनाकर्ता आफैंले त्यही पहिरन लगाएर रनवेमा मोडल झैं प्रस्तुति दिन्छ, तब दृष्य आफैं विशेष र पृथक बन्न पुग्छ । यस्तै दृष्यहरुलाई साक्षात्कार गर्ने अवसर प्राप्त भयो ड्रेस टु इम्प्रेस नामक फेसन कार्यक्रमको ११ औं संस्करणमा । राजधानीको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा भव्य रुपमा तयार पारिएको स्टेज सेट अपमा आईआईएफटी स्कूल अफ फेसन डिजाइनका १३७ जना विद्यार्थी डिजाइनरहरु चार वटा फरक फरक थीममा आफैंले तयार पारेका पहिरन लगाएर स्टेजमा प्रस्तुति दिंदै गरेको देख्न पाइयो ।

प्रतिस्पर्धात्मक उक्त फेसन कार्यक्रममा रोजिना भण्डारीले भिन्टेज ग्ल्यामर, साहिल जंग क्षेत्रीले पप आर्ट एण्ड इक्लेटिक इलिमेन्टस्, ललिता हासदाले द आर्ट एण्ड द आर्टिष्ट तथा करिष्मा बुचा मगरले फ्रि सीकर्स अवधारणामा तयार पारेका पहिरनले कार्यक्रमको उत्कृष्ट सृजनकर्ताको अवार्ड जित्न सफल भए । यी मुख्य अवार्ड बाहेक समा राई आईआईएफटी लाइक्स् लिजेण्ड च्याम्पियन, सरिता थापा मगर आईआईएफटी शेयर्ड स्ट्रोम च्याम्पियन तथा प्रजिना तुलाधर आईआईएफटी पब्लिक च्वाइस अवार्डका हकदार छानिएका थिए ।

आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा श्री रिद्धि सिद्धि ज्वलेर्सको मुख्य प्रायोजन तथा प्यासन लाइफ टाइम टीस्यु र बेरिना प्रोफेसनलको सह प्रायोजन रहेको सो फेसन कार्यक्रममा अभिनेत्री दिया मास्के, मिस नेपाल वल्र्ड २०२४ आश्मा कुमारी के.सी. तथा मिस नेपाल अर्थ २०२४ सुमना के.सी. शो स्टपरका रुपमा प्रस्तुत भएका थिए । संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी तथा संचालनमा सम्पन्न उक्त कार्यक्रममा फेसन डिजाइनरहरु राजेश धाख्वा, निभा श्रेष्ठ, निशा श्रेष्ठ, रोपुमा मानन्धर तथा संजिता बराल र द हिडेन ट्रेजरका निर्देशक रुपेश श्रेष्ठ निर्णायकको भूमिकामा थिए ।


