राजधानी शहरको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न मिष्टर एण्ड मिस नेसनल २०२५ को फाइनल प्रतिस्पर्धामा साइरस विश्वकर्मा मिष्टर सुप्रानेसनल नेपाल २०२५ र दिक्षा अवस्थीे मिस स्प्रानेसनल नेपाल २०२५ को रुपमा घोषणा भएका छन् । प्रतियोगिताको फाइनल चरणमा पुग्न सफल ८ पुरुष तथा ८ महिला प्रतिस्पर्धी मध्येबाट मिष्टर एण्ड मिस सुप्रानेसनल नेपाल २०२५ बाहेक अन्य चार मुख्य उपाधिका पनि विजेता चयन गरिएको सो प्रतियोगितामा रिजु भट्टराईले मिस ग्लोब नेपाल २०२५ को ताज पहिरिन सफल भइन् भने सिद्धार्थ तामाङले मिष्टर इन्टरनेसनल नेपाल २०२५ को उपाधि उचाले । यसैगरी सुम्निमा पुरीले मिस इन्टरकन्टिनेन्टल नेपाल २०२५ को ताज पहिरिन् भने कृशल श्रेष्ठले मिष्टर टुरिजम नेपाल २०२५ उपाधि जित्न सफल भए । कार्यक्रमका यी ६ जना मुख्य उपाधि विजेताहरुले आ आफ्नो उपाधिको अन्तर्राष्ट्रिय संस्करणमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

उत्कृष्ट आठ फाइनलिष्ट मध्ये प्रयाग रेग्मी मिष्टर नेसनल २०२५ तथा अनिशा श्रेष्ठ मिस नेसनल २०२५ को रुपमा चयन भए । यसैगरी सिजल कपाली र सिल्भिया शर्मा फस्ट रनर अप तथा अजहर आलम र युक्ता सिंह सेकेन्ड रनर अप रुपमा छनौट भएका थिए । सनुर्वी इन्टरनेसनलको आयोजनामा सम्पन्न सो प्रतियोगितामा महिला पुरुष गरी २७ जना सहभागिहरु प्रतिस्पर्धाको मैदानमा थिए । संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको सो प्रतियोगिताका लागि स्मीथ तामाङ पासारेला ट्रेनर थिए भने क्षितिज श्रेष्ठ क्षेत्री सहकोरियोग्राफरका रुपमा रहेका थिए ।

प्रतिस्पर्धात्मक कार्यक्रमका सहभागिहरुको समग्र प्रस्तुतिको मुल्यांकनको जिम्मेवारी प्रतियोगिताका लागि नेपालका नेसनल डाइरेक्टर समेत रहेका मिष्टर नेपाल २०१९ डा.सन्तोष उपाध्याय, नोभेम्बर क्लोदिङ ब्राण्डका सिईओ केदार न्यौपाने, मिस सुप्रानेसनल नेपाल २०२२ डा. केशु खड्का, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, लिडरशीप कोच अरुण बस्नेत तथा टेलिभिजनकर्मी सिजल रुपाखेतीले निर्वाह गरेका थिए ।

प्रतियोगिता अन्तर्गत क्षेवाङ शेर्पा र सुम्निमा पुरी फोटोजेनिक, सिजल कपाली र अनिशा श्रेष्ठ फिटनेस, सिद्धार्थ तामाङ र सुम्निमा पुरी ट्यालेन्ट, क्षेवाङ शेर्पा र वर्षा थापा हस्पिटालिटी, साइरस विश्वकर्मा र सुम्निमा पुरी स्विमवेयर, कृशल श्रेष्ठ र दिक्षा अवस्थी टप मोडल, अजहर आलम र रिजु भट्टराई पब्लिक च्वाइस, सिद्धार्थ तामाङ र रविना जिसी मल्टिमिडिया विधामा विजेता चयन भएका थिए । यसैगरी कार्यक्रममा साइरस विश्वकर्मा र मनिशा पन्थ वेष्ट फिजिक, प्रयाग रेग्मी र सिल्भिया शर्मा एलिगेन्स, सिद्धार्थ तामाङ र दिक्षा अवस्थी वेष्ट स्कीन, मनिश शाह र अनु राई वेष्ट हेयर, आयुष श्रेष्ठ र अन्जना शेर्पा वेष्ट स्माइल, जीवन उप्रेती र अनिशा श्रेष्ठ कन्जिनियालिटी, जीवन तामाङ र युक्ता सिंह कम्युनिक, साइरस विश्वकर्मा र जुली शाह इन्फ्लेन्सर तथा स्पन्दन राई र स्वेच्छा ढकाल इम्पावरमेन्ट विधामा उत्कृष्ट छनौट गरिएका थिए ।


