नेपाली सौन्दर्य प्रतियोगिताको परिदृश्यमा महत्त्वपूर्ण पहिचान बनाएको मिस ग्रान्ड नेपाल ले सन् २०२५ को संस्करणको औपचारिक शुभारम्भ गरेको छ। एक भव्य समारोहका साथ, आर।के। इन्टरटेन्मेन्ट ग्रुपले देशभरबाट चुनिएका २० जना युवती प्रतियोगीहरूलाई विशेष स्यास प्रदान गर्दै प्रतियोगितामा स्वागत गर्यो। यो प्रतिस्पर्धा केवल एउटा ताज जित्ने दौड मात्र नभई, नेपाली नारीहरूलाई विश्वव्यापी मञ्चमा पुर्याउने एउटा अवसरको प्रवेशद्वार पनि हो। यस प्रतियोगितामा सहभागी युवतीहरूले नेपालका विभिन्न भौगोलिक क्षेत्रको प्रतिनिधित्व गर्छन्। काठमाडौँदेखि झापा, पोखरादेखि वीरगन्ज, नेपालगन्ज, बुटवल, चितवन, धरान, सिन्धुपाल्चोक, रामेछाप, खोटाङ र सुनसरीसम्मका यी अनुहारहरूले देशको विविधता र अनुपम सौन्दर्यलाई प्रतिबिम्बित गर्छन्। उनीहरूमा आत्मविश्वास, वाक्पटुता र शारीरिक सुन्दरताको एक अद्वितीय संयोजन देखिन्छ, जसले नेपाललाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सशक्त रूपमा प्रस्तुत गर्न सक्षम बनाउने सङ्केत दिन्छ।
यस वर्षको प्रतियोगितालाई अझ परिष्कृत र व्यावसायिक बनाइएको छ। कोरियोग्राफर रोजिन शाक्यले ग्रुमिङ सेसनहरू सञ्चालन गरिरहेका छन्, जसअन्तर्गत व्यक्तित्व विकास, प्रस्तुतीकरण कला, र मञ्चमा आत्मविश्वासका साथ उभिनेजस्ता महत्त्वपूर्ण प्रशिक्षणहरू प्रदान गरिनेछ। प्रतियोगीहरूको तयारीलाई थप उत्कृष्टता प्रदान गर्न सन्दीप पण्डितको फोटोग्राफी, रोजिना सुवालको मेकअप, नवीन लुइँटेलको ड्रेस डिजाइन र आर।के। ग्रुपको भिडियो टिम ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी साउन ३ गते प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लब, द ब्लु पेभिलियनमा सम्पन्न हुने तय भएको छ ।


