सशक्त महिला, सबल राष्ट्रको नारा सहित आयोजना हुँदै स्वास्थ्य पेशामा समर्पित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिताको रुपमा परिचय बनाएको मिस नेपाल पिस प्रतियोगिताको आठौं संस्करणको आवेदन खुल्ला गरिएको छ । १७ वर्ष देखि २८ वर्ष उमेर समूहका नर्सिङ पेशामा आबद्ध वा नर्सिङ अध्ययनरत युवतीहरुका लक्षित प्रतियोगिता मिस नेपाल पिस २०२५ का लागि सहभागिता जनाउन चाहनेहरुले खल्ती एप मार्फत् आवेदन फाराम भर्न व्यवस्था गरिएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अनुसार एन्क्लेक्स नेपाल प्रस्तुतकर्ता रहने यो प्रतियोगिता मनासलु इन्टरनेसनल सर्भिसेस् सह प्रायोजकका रुपमा रहनेछ । प्रतियोगिताको शीर्ष तीन विजेताले नगद पुरस्कार सहित मिस वल्र्ड पिस, मिस ग्लोबल र मिस प्लानेट इन्टरनेसनलमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रशिक्षण अन्तर्गत सहभागिहरु संचार कला, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन, लिडरशिप, डे«सिङ सेन्स, करियर काउन्सिलिङ लगायतका विषयमा अभ्यस्त हुनेछन् भने स्टेज प्रस्तुतिकरणका विविध आयामहरुमा उनीहरुले आफूलाई पारंगत गर्न पाउनेछन् । हालसम्म मिस नेपाल पिस अन्तर्गत ज्वाला पौडेल, सोनिया आचार्य, मिनुश कायस्थ, सोनम थापा मगर, श्रेया रजक, रेश्मा प्रसाई र विधि लम्सालले शीर्ष उपाधिको ताज चुमिसकेका छन् । प्रतियोगिताको सातौं संस्करणका विजेता विधि लम्सालले मिस ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् भने सोही संस्करणका फस्ट रनर अप अनिशा पराजुलीलले मिस प्लानेट इन्टरनेसनल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् । अनिशाले सो प्रतियोगितामा मिस ह्युमानिटीको अवार्ड सहित आफूलाई उत्कृष्ट २७ भित्र उभ्याउन सफल भएकी थिइन् ।


