Monday 13 July 2026 / सोमबार, २९ असार २०८३

लन्डन, लन्डनस्थित एक सफल महिला उद्यमी डा. रक्षा थापाले एनआरएनए यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् ।बिहीबार लन्डनमा आयोजित एक समारोहबीच डा. थापाले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

लन्डनको एक सफल व्यवसायिक कम्पनी माया सर्पोटेड लिभिङकी निर्देशक उनले आफ्नो उम्मेदवारी कुनै राजनीतिक प्यानलबाट नभइ स्वतन्त्र रहेको पनि प्रष्ट्याइन् ।

घोषणासभामा डा. थापाले आफूले लामो समयदेखि सामाजिक संघसंस्थामा सक्रिय भूमिका निर्वाह गरेको जनाउंदै आफ्नो सम्पूर्ण कार्यकाल नेपाली समुदायको हित, सम्मान र समृद्धिमा समर्पित गर्ने दृढ प्रतिवद्धता व्यक्त गरिन् ।

उनले बुंदागत रुपमा ११ प्रतिवद्धता सार्वजनिक गर्दै संस्थागत संरचना सुदृढीकरण र एकता प्रवर्धन, युवा सशक्तिकरण र नेतृत्व विकास, नेपाली संघसंस्थाबीचको एकता र सहकार्य सुदृढ गर्दै एनआरएन अभियानलाई प्रभावकारी बनाउने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् ।

गोर्खाहरुको न्यायपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता जनाउंदै उनले गोर्खाहरुका माग पुरा गर्न बेलायत र नेपाल सरकार एवं सम्बन्धित निकायहरुसंग समन्वय गर्ने, नेपाली नागरिकता निरन्तरताका लागि आवश्यक नीतिगत पहल गर्ने, महिलाको सामाजिक, सांस्कृतिक र व्यवसायिक सशक्तिकरणमा केन्द्रित विशेष कार्यक्रम सञ्चालन गर्ने, बेलायतस्थित नेपाली समुदायको हित संरक्षण, नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण, दिगो परोपकार र विकास अभियान, संस्थागत पारदर्शीता र जवाफदेहीता, नेपाल बेलायत सम्बन्ध सुदृढीकरण आदि पनि आफ्नो प्रतिवद्धतामा समावेश गरेकी छन् ।

आफ्नो उम्मेदवारी केवल पदका लागि मात्र नभइ दृष्टिकोण, आवाज र भविष्यको छनोट रहेको जनाउंदै डा. थापाले सबैसंग सहकार्य गर्दै समावेशी, सशक्त र प्रभावकारी एनआरएनए यूके निर्माणमा अग्रसर हुने जनाइन् ।

‘संस्था बिग्रेको छ, रोग लागेको छ भनेर छाड्नु भन्दा उपचार गर्न म अगाडि सरेको हुं’, थापाले भनिन् ।

एनआरएनमा प्राध्यापक, अनुसन्धानकर्ता र बुद्धिजिवीहरुलाई समेत जोडेर ज्ञान साटासाट, सही निर्णयमा सहयोग र विदेशमा नेपाली प्रतिभाको समुचित प्रतिनिधित्व गराउने उनको योजना छ ।

घोषणासभामा विभिन्न संघसंस्थाका अगुवाहरुले अग्रीम शुभकामना दिएका छन् । शुभकामना मन्तव्यका क्रममा डा. थापाका श्रीमान् राज पाण्डेले संस्थालाई बाहिरबाट गाली गरेर होइन्, संस्थाभित्रै रहेर सुधार गर्न सकिने विश्वासका साथ उनलाई अगाडि बढ्न प्रोत्साहित गरेको बताए । पाण्डेले संस्थामा राजनीति गर्न नभइ काम गर्न आएको पनि उल्लेख गरे ।

यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष उमेशराज मोक्तानले थापालाई जिताउन खुलेरै लाग्ने बताए । उनले सबै मतदातालाई मत दिएर नेतृत्वमा महिलालाई अवसर दिन अपिल गरे ।

यती नेपाली एसोसिएसन यूके अध्यक्ष टंक भट्टराईले डा. थापाले यसअघि व्यवसायिक र सामाजिक नेतृत्व प्रमाणित गरिसकेको जनाउंदै अब संघमा युवाहरुको खांचो रहेको बताए । आरजीएनएसका पूर्व अध्यक्ष पूण्य रेग्मीले हेटौंडाको सामान्य परिवारबाट यूके आएर थापाले यहां व्यवसाय तथा सामाजिक क्षेत्रमा उदाहरणीय र प्रेरणादायी सफलता हासिल गरेको बताए ।

उनले डा. थापालाई विश्वास गर्नु समग्र युवा पुस्तालाई नै अवसर र प्राथमिकता दिनु रहेको जनाउंदै मत दिन आग्रह गरे ।सोसाइटी अफ नेपलिज प्रोफेसनल्स् यूके अध्यक्ष गजेन कटुवालले एनआरएनए, नेता र बेलायतको डायष्पोरामाथि नकारात्मक टिकाटिप्पणी भइरहेको र संस्थाको साख खस्किंदा अब रक्षा थापाले त्यसलाई रक्षा गर्ने धारणा राखे ।

नेपलिज नर्सिंङ एसोसिएसन यूकेका पूर्व अध्यक्ष बिनोदविकास सिम्खडाले लिडरसीप क्वालिटी, योग्यता र विचारका कारण रक्षाहरु नेतृत्वमा आउनुपर्नेमा जोड दिए ।

स्लाउ नेपलिज सोसाइटी यूकेका अध्यक्ष लेखनाथ घिमिरेले बेलायतको सबैभन्दा रोगी संस्था एनआरएनए यूकेलाई डा. रक्षाले सुशासन र वित्तिय पारदर्शीतामार्फत रोगबाट बाहिर आउन मद्दत गर्ने आशा व्यक्त गर्दै जीतका लागि शुभकामना दिए ।

एनआरएनए यूके निर्वाचन आउंदो २६ जुलाईमा अनलाइनमार्फत हुंदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय