यु क्यान फ्लाई मोडलिङ एजेन्सीको आयोजनामा संचालन भएको मोडलिङ सम्बन्धीत प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । रियालिटी शोको अवधारणामा संचालन भएको यो प्रतियोगितामा १८ प्रतिस्पर्धीको सहभागिता रहेको भएतापनि श्रृङ्खलाबद्ध रुपमा संचालन भएको प्रतिस्पर्धामा चरणबद्ध रुपमा एलिमिनेट हुँदै अन्ततः ८ जना फाइनलिष्टले ग्राण्ड फिनालेको मंचमा प्रस्तुतिकरण गर्ने अवसर प्राप्त गरेका थिए । चार पुरुष तथा चार महिला फाइनल प्रतिस्पर्धीहरुले राजधानी शहरको सोल्टीमोड स्थित होटल सोल्टीको मेघा मल्हार प्रेक्षालयमा फेसनमय फाइनल प्रतिस्पर्धामा आ आफ्नो प्रस्तुति दिएका थिए । फेसनका विभिन्न रुप रंगमा सजिएका उनीहरुले विभिन्न चरणमा रनवे प्रस्तुति दिएका थिए । उनीहरुको प्रस्तुति व्यवसायिक मोडलहरुको जस्तो छनक देख्न पाइएको थियो ।

प्रतियोगिताको फाइनल चरणमा पुगेका फाइनलिष्टहरु मध्ये जोसिया ग्यारेट र तृषा चेम्जोङले मुख्य उपाधि उचाल्न सफल भए थिए भने गणेश क्षेत्री र एलिना चौधरीले फस्ट रनर अप तथा एलेन थापा र प्राश्ना श्रेष्ठले सेकेन्ड रनर अपको उपाधि प्राप्त गरेका थिए । प्रतियोगितामा इर्भान वीर सिंह कंसाकार र प्रतिष्ठा रिजालले थर्ड रनर अप उपाधि जितेका थिए । द फेसन नेपाल भोल्युम फाइभका विजेताद्वय जोसिया र तृषाले विजेताका रुपमा विभिन्न मोडलिङका विभिन्न अवसरका साथमा जनही साढे तीन लाख बराबारको पुरस्कार प्राप्त गरेका थिए ।

अजय गुरुङको कोरियोग्राफीमा सम्पन्न फाइनल प्रतिस्पर्धामा फेसन, मोडलिङ तथा सौन्दर्य प्रतियोगिता क्षेत्रका चिरपरिचित अनुहारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा फेसन कोरियोग्राफरत्रय रचना गुरुङ शर्मा, प्रशान्त ताम्राकार, रोजिन शाक्य, फेसन डिजाइनर आरजु श्रेष्ठ, नमूना कलेज अफ फेसन टेक्नोलजीका भाइस प्रिन्सिपल जिवेश्वर लाल श्रेष्ठ तथा क्लब व्यवसायी रविन श्रेष्ठ र आयोजक संस्थाका संसाद शाह र स्वीकृति प्याकुरेल प्यानलिष्टका रुपमा उपस्थित थिए ।



