काठमाडौँ, पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन् । सोमबार सीएनआई (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।त्यस क्रममा प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । राज्यको माइन्ड सेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता रहेको उनको भनाइ छ ।
‘निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘राज्यले सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ।’ सीएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको स्मरण समेत गरेका छन् ।


