प्रदशर्नी मार्ग स्थित नेपाल पुलिस क्लबको द ब्लु पभेलियनको प्रेक्षालयमा मिस ग्राण्ड नेपाल २०२५ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । प्रतियोगितामा चाहना प्रधानले मिस ग्राण्ड नेपाल २०२५ को ताज पहिरिन सफल भएकी छिन् । विजेता चाहनाले विभिन्न गिफ्ट ह्याम्परका साथमा ईभी स्कुटर पुरस्कार रुपमा प्राप्त गरेकी छिन् । चाहनाले मुख्य उपाधि बाहेक मल्टिमिडिया र क्रिएटिभ विधाको अवार्ड पनि प्राप्त गर्न सफल भइन् ।

प्रतियोगितामा एक्टिभ विधाको अवार्ड सहित गरिमा गुरुङले मिस ग्राण्ड टुरिजम वल्र्ड नेपाल २०२५को ताज पहिरिन सफल भइन् भने ट्यालेन्ट विधाको अवार्ड सहित स्नेहा के.सी.ले मिस सुप्रा ग्लोबल नेपाल २०२५ उपाधि जित्न सफल भइन् । संजना गुरुङ भने मिस ग्राण्ड युनिभर्स नेपाल २०२५ का रुपमा चयन भइन् । यी चारै जना मुख्य उपाधि विजेताहरुले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न भएको यस प्रतियोगिताको कोरियोग्राफी एवं संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् । नविन लुईंटेलको अगुवाईमा सेन्ट्रल फेसन हबका डिजाइनरहरुले तयार पारेको आकर्षक पहिरनहरुमा सहभागिहरुले आ आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतियोगिता अन्तर्गत गायन राईले कोशी प्रदेश, आरती कुमारी ठाकुरले मधेश प्रदेश, ईविशा राउतले बागमती प्रदेश, रेविका थापा मगरले गण्डकी प्रदेश, दिलाशा डाँगीले लुम्बिनी प्रदेश तथा मिस्टि देउवाले सुदरपश्चिम प्रदेशको उपाधि प्राप्त गरेका थिए । यसैगरी वेष्ट वाकमा ईमा राई, फोटोजेनिकमा ईविशा राउत, इनोसेन्टमा सिम्रन चन्द, स्पोन्टेनियसमा रोशना गौतम, ग्ल्यामरमा सोनी खड्गी, पर्सनालिटीमा सरस्वती भुर्तेल विजेताका रुपमा चयन भएका थिए ।
पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यता तथा उद्यमी व्यवसायी राजु श्रेष्ठको सभापतित्व रहेको सो प्रतियोगितात्मक कार्यक्रममा हिसानका उपाध्यक्ष रामहरि सिलवाल, सोसलमिडिया इन्फुलेन्सर मिस पबी, ठमेल टुरिजम बोर्डका सल्लाहकार गीता गुरुङ, इभेन्ट उद्यमी प्रमिला सिलवाल, संचारकर्मी सुस्मी कँडेल तथा संचारकर्मी एवं लेक्चरर एनके सरद निर्णायकका रुपमा रहेका थिए ।


