Monday 12 October 2026 / सोमबार, २६ आश्विन २०८३

काठमाडौं, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की जिल्लाको माछापुच्रे गाउँपालिका धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निर्माणको काम अगाडि बढ्नुपर्छ भन्नेमा आफु रहेको बताउनुभएको छ।

आज धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै अध्यक्ष प्रचण्डलाई भेट गरी पहल गरिदिन अनुरोध गर्नुभयो

प्रतिनिधिहरूले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण लगायतका प्रारम्भिक काम सम्पन्न भइसकेको र पालिकाको पहलमा जग्गा समेत हस्तान्तरण भइसकेको जानकारी गराउनुभयो। प्रारम्भिक चरणमा बजेट विनियोजन, टेन्डर प्रक्रिया जस्ता कामहरू सम्पन्न भए पनि पछिल्लो समय योजना अलपत्र परेको भन्दै उहाँहरूले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँहरुको भनाइलाई गम्भीरताका साथ सुन्नुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, “तपाईंहरूले यो योजना अघि बढाउन जुन चिन्ता गर्नुभएको छ, म त्यसप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु। यो प्रक्रिया अघि बढेको योजना हो र अब यो बन्नै पर्छ। कास्कीमै बन्नुपर्छ, धितालमै बन्नुपर्छ भन्ने हो।”

अध्यक्ष प्रचण्डले पार्टीका प्रतिनिधि, जग्गादाता र स्थानीय जनप्रतिनिधिहरू सबैलाई माओवादी केन्द्रको तर्फबाट यो योजना अगाडि बढ्नुपर्छ भन्नेमा पहल गरिने विषयमा ढुक्क हुन आग्रह गर्दै योजना कार्यान्वयनका लागि आफूबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय