उच्च शिक्षाको अध्ययनका क्रममा आफ्नो घर, गाउँ, ठाउँबाट टाढा रहेर सफा, स्वच्छ, आधुनिक सुविधा सम्पन्न, सुरक्षित एवं पारिवारिक वातावरण सहितको होस्टलमा बस्दै आएका छात्राहरुमा केन्द्रित रहेर उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास एवं क्षमता अभिवृद्धिको उद्देश्य सहित उनीहरुको समग्र सबलीकरण एवं सशक्तिकरणमा योगदान पु¥याउने हेतुले नेपालमै पहिलो पटक मिस होस्टल नेपालको आयोजना हुने भएको छ । ब्युटी विथ ब्रेनको नारा सहित संचालन हुन लागेको पहिलोको संस्करणको मिस होस्टल नेपाल २०२५ का सम्बन्धमा राजधानीमा आयोजित एक पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । व्यक्तिलाई व्यक्तित्वमा रुपान्तरण गर्ने उद्देश्य राखी सोही अनुसार विगत लामो समय देखि सौन्दर्य प्रतियोगिता, फेसन, मोडलिङ, साँगीतिक, शिक्षा, स्वास्थ्य, खेलकूद एवं सामाजिक कार्यक्रमहरुको संचालनमा सक्रिय रहँदै आएको काराओके इन्टरटेन्मेन्टले मिस होस्टल नेपालको आयोजना गर्न लागेको हो । होस्टलमा बस्दै आएका विद्यार्थीहरुको उत्थान गर्ने तथा होस्टल व्यवसायीहरुका हितका लागि बनेको छाता संस्था होस्टल व्यवसायी संघ नेपालसितको हातेमालोमा मिस होस्टल नेपाल कार्यक्रमलाई सफलता पूर्वक संचालन गर्न लागिएको हो । मिस होस्टल नेपाल २०२५ को आयोजना सम्बन्धी विस्तृत जानकारी गराउनका लागि आयोजना गरिएको सो पत्रकार सम्मेलनमा काराओके इन्टरटेन्मेन्टका प्रमुख खगेश रञ्जितकार, होस्टल व्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष सुनिल भेटवाल र मिस नेसनल विजेता रहिसकेकी कार्यक्रमका कोरियोग्राफर समिता बज्राचार्यले कार्यक्रमको आयोजना तथा संचालन सम्बन्धी प्रकाश पारेका थिए । सो पत्रकार सम्मेलनको संचालन होस्टल व्यवसायी संघ नेपालले मिस होस्टल नेपालका लागि तोकिएका प्रतिनिधि राजेन्द्र रिमालले गरेका थिए ।

पत्रकार सम्मलेनमा गराइएको जानकारी अनुसार समिता बज्राचार्यको कोरियोग्राफीमा अन्तर्गत मिस होस्टल नेपाल २०२५ को फाइनल प्रतिस्पर्धा आगामी भदौ १६ गते प्रदशर्नी मार्ग स्थित नेपाल पुलिस क्लबको द ब्लु पेभेलियनमा भव्य रुपमा संचालन हुनेछ । तीन साताको प्रशिक्षण अवधिमा सहभागिहरुले स्टेज प्रस्तुतिकरणका विभिन्न पक्षहरु, संचार कला, व्यक्तित्व विकास, विभिन्न क्षेत्रका व्यक्तिहरुसित अन्तरक्रिया सहित फोटोसुट, हाइकिङ, ट्रेकिङ, टेबल म्यानर, सेल्फ मेकअप लगायतका विभिन्न क्रियाकलापमा संलग्न हुनेछन् । फाइनल प्रतिस्पर्धामा तीस जना सहभागिहरु समावेश गराइने आयोजक पक्षले जनाएको छ । तीस वटा विभिन्न विधागत उपाधि सहित मुख्य उपाधि विजेता, दोस्रो तथा तेस्रो स्थानमा विजेता चयन गरिने जनाइएको । प्रतियोगितामा प्रथम हुनेले नगद पुरस्कार रु एक लाख प्राप्त गर्नेछन् भने दोस्रो तथा तेस्रो स्थान हासिल गर्नेहरुले क्रमशः नगद पुरस्कार रु पचास हजार तथा पच्चीस हजार प्राप्त गर्नेछन् । तीनै जनाले विभिन्न गिफ्ट ह्याम्पर सहित चाँदीको ताज पहिरिने छन् ।


