प्लस टू अध्ययनरत छात्राहरुमा लक्षित सौन्दर्य प्रतियोगिता मिस प्लस टू इन्टरनेसनल नेपाल २०२५ सफलतापूर्वक सम्पन्न भएको छ । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा मुख्य तीन उपाधि विजेता चयन भएका छन् । जस अन्तर्गत कर्मा डोल्मा लामाले मिस प्लस टू इन्टरनेसनल नेपाल वल्र्ड, मुस्कान कुँवरले मिस प्लस टू इन्टरनेसनल नेपाल हेरिटेज र आकृति पोखरेलले मिस प्लस टू इन्टरनेसनल नेपाल ग्लोबलको ताज पहिरिएका छन् । मुख्य तीन उपाधि विजेता मध्ये कर्माले वेष्ट वाक र मिस स्टाइलिस, मुस्कानले ट्यालेन्ट र आकृतिले फोटोजेनिक विधाको अवार्ड पनि जित्न सफल भएका थिए । चौध जना प्रतिस्पर्धीहरुको वीचको फाइनल प्रतिस्पर्धामा पब्लिक च्वाइस विधामा मुस्कान कुँवर विजेता तथा आस्मा धामी र कर्मा डोल्मा लामा रनर्स अप छानिएका थिए भने भ्युअर्स च्वाइस विधामा कर्मा डोल्मा लामा विजेता तथा मुस्कान कुँवर र आकृति पोखरेल रनर्स अप चयन भएका थिए । म्यानेज्मेन्ट च्वाइसतर्फ आस्मा धामीले विजेताको ताज पहिरिन् ।

परिचयात्मक चरण, स्टाइलिस र प्रश्न उत्तर चरण, ककटेल तथा इभिनिङ गाउन राउन्ड हुँदै टप एट् राउन्ड सम्मको यात्रा हुँदै प्रतियोगिताले अन्ततः विजेता निक्र्यौल गरेको थियो । युजिशा इन्टरनेसनल इभेन्ट्सको फ्रान्चाइस रहेको सो कार्यक्रम युभा इभेन्ट्सको आयोजनामा सम्पन्न भएको थियो । त्रिदेवी श्रेष्ठ कार्यक्रम व्यवस्थापक रहेको यस प्रतियोगितामा इभेन्ट तथा प्याजेन्ट निर्देशकहरु लक्की राम के.सी., मनिशा डंगोल श्रेष्ठ, अनिला श्रेष्ठ र विशाल गुरुङ, महिला उद्यमी प्रिया मानन्धर, वायुसेवा उद्यमी संगीता रौनियार तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०२४ की विजेता विभा बस्नेत निर्णायकका रुपमा रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी एवं संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।


