कञ्चनपुर, अविरल वर्षापछि आएको बाढीका कारण डुबानमा परेका दोधारा चाँदनी नगरपालिकाका तीन वडाका बासिन्दा अझै पनि घर फर्कन सकेका छैनन्। जोगबुढा नदीमा आएको बाढीले ५४ घर डुबानमा पारेपछि २१८ जना सुरक्षित स्थानमा सारिएका थिए। विस्थापित परिवारलाई नजिकैका विद्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले जानकारी दिए। वडा नं. ८ का २५ घरका ७० जना जनज्योति माध्यमिक विद्यालयमा, वडा नं. ३ का १५ घरका ५५ जना जमुना आधारभूत विद्यालयमा तथा वडा नं. १० का १२ घरका ४० जना अम्विका माध्यमिक विद्यालयमा बसाइँसराइ गरिएको छ।
त्यसैगरी, सुन्दरनगरस्थित सशस्त्र प्रहरी बिओपीका २३ जना ओमकार आधारभूत विद्यालयमा तथा कञ्जभोजस्थित ३० जना सहरी खोप केन्द्र भवनमा राखिएको छ। समयमै उद्धार भएकाले जनधनको क्षति हुन पाएन। महाकाली नदीमा पानीको बहाव अहिले घट्दो क्रममा रहेको छ। मंगलबार बिहान ७ बजे मापनअनुसार बहाव १ लाख ७१ हजार ९१३ क्यूसेक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोमबार साँझ भने यस वर्षकै उच्च २ लाख ७१० क्यूसेक पानी बगेको थियो।
सीमा पुल बनबसा अझै चारपाङ्ग्रे सवारीसाधनका लागि बन्द रहेको छ। पानीको बहाव एक लाख क्यूसेक नाघेपछि पुलमा चारपाङ्ग्रे सञ्चालन रोक्ने प्रावधान लागू हुने गरेको छ।


