Monday 27 July 2026 / सोमबार, ११ श्रावण २०८३

वीरगञ्ज, भदौ २७ – ‘जेनजी’ समूहको प्रदर्शन र आन्दोलनका कारण देशकै सबैभन्दा ठूलो राजस्व संकलन गर्ने वीरगञ्ज भन्सार कार्यालय दुई दिनसम्म ठप्प हुँदा अर्बौं राजस्व संकलनमा नोक्सानी भएको छ।

दैनिक औसतमा करिब ७२ करोड रुपैयाँ राजस्व संकलन गर्ने यो कार्यालयले मंगलबार र बुधबार करिब शून्य संकलन गरेको थियो। बिहीबारदेखि भने अत्यावश्यक पेट्रोलियम पदार्थ, ग्यास र औषधिजन्य सामानको जाँचपास प्रक्रिया पुनः सुरु भएसँगै करिब १० करोड रुपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए।

ज्ञवालीका अनुसार कार्यालयमा भौतिक वा मानवीय क्षति नभए पनि आन्दोलनले सेवा अवरुद्ध बनाएको हो। शुक्रबारदेखि भने अत्यावश्यक वस्तु बाहेक औद्योगिक सामानको पनि जाँचपास सुरु गर्ने तयारी गरिएको छ।

गत आव २०८१/८२ मा वीरगञ्ज भन्सार कार्यालयलाई रु २ खर्ब १८ अर्ब ९५ करोड राजस्व लक्ष्य तोकिएकोमा रु १ खर्ब ७५ अर्ब ९३ करोड (८०.३५%) मात्र संकलन भएको थियो। अघिल्लो आव २०८०/८१ मा भने लक्ष्य रु २ खर्ब ४५ अर्ब भए पनि संकलन रु १ खर्ब ५७ अर्ब मा सीमित भएको थियो।

त्यस्तै, सुक्खा बन्दरगाह भन्सारले गत आवमा तोकिएको ६० अर्ब ४ करोड लक्ष्यमध्ये ४९ अर्ब ८२ करोड मात्र राजस्व संकलन गरेको थियो।

चालु आवको साउनदेखि दुबै भन्सार गाभिएका छन्। साउन महिनामै दुबै कार्यालयले रु १८ अर्ब ३९ करोड ६७ लाख (८७.६८% लक्ष्य) राजस्व संकलन गरेका छन्।

आन्दोलनका कारण राजस्व संकलनमा भएको घाटा निकट भविष्यमा पुरा हुने वा अझै असर पर्ने भन्नेबारे भने अनिश्चितता कायमै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय