Sunday 11 October 2026 / आईतवार, २५ आश्विन २०८३

काठमाडौं, मुलुकका प्रतिष्ठित कलाकारहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भ्रष्टाचारविरुद्धको अभियान र आगामी निर्वाचन तयारीमा अडिग रहन सुझाव दिएका छन्।

बुधबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेका ९ जना चर्चित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न आग्रह गरेका हुन्।

अभिनेतृ ऋचा शर्माले प्रधानमन्त्रीप्रति विश्वास व्यक्त गर्दै भनिन्, “हामीलाई डर लागेको समयमा आमा सम्हाल्न आउनुभयो। तपाईंको सरल र स्पष्ट शैलीले मुलुक ठिक दिशामा अघि बढ्ने भरोसा दिलाएको छ।”

अभिनेता विपिन कार्कीले भने, “गृहमन्त्रीका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने देखाएको छ। अब थप दरिलो सरकारको अनुभूति गर्न चाहन्छौँ।”
त्यस्तै निश्चल बस्नेतले दुष्प्रचार र गलत सूचना फैलाउने तत्वप्रति सचेत रहँदै अघि बढ्न आग्रह गर्दै भने, “सही धरातलमा छौं भने डराउनुपर्दैन। अब देशमा सकारात्मकताको खाँचो छ।”

संगीतकार कालीप्रसाद बाँस्कोटाले समाज भड्काउन खोज्ने तत्वहरू सक्रिय भएको भन्दै सम्हालिने समय आएको बताए।
अभिनेता विजय बरालले भने, “परिवर्तनको पक्षमा जनता एकातिर छन्, अस्थिरता चाहने केही शक्तिहरू अर्कातिर। अहिले एकताबद्ध हुनुपर्ने समय हो।”

कलाकारहरूले सरकारलाई दुष्प्रचारको प्रतिवाद गर्दै नियमित रूपमा काम र उपलब्धिहरू सार्वजनिक गर्न आग्रह गरे।

प्रधानमन्त्री सुशीला कार्कीले कलाकारहरूको सुझावप्रति धन्यवाद व्यक्त गर्दै भनिन्, “साथ र सहयोग सबैको चाहिन्छ। असल नियतले काम गर्दा गाली गर्नेहरूसँग डराउँदिनौँ। हाम्रो उद्देश्य र लक्ष्य स्पष्ट छ।”

भेटमा विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा र कर्मा उपस्थित थिए।
भेटघाटको संयोजन पुकार बमले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय