अमेरिकी गृह सुरक्षा मन्त्रालयले इलेक्ट्रोनिक डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी–१) कार्यक्रम अस्थायी रूपमा रोक्न निर्देशन दिएको छ। Reuters का अनुसार अमेरिकी गृह सुरक्षा मन्त्री Kristi Noem ले बिहीबार राति U.S. Citizenship and Immigration Services (USCIS) लाई डीभी–१ कार्यक्रम तत्काल लागू नहुने गरी स्थगित गर्न निर्देशन दिएकी हुन्।
डाइभर्सिटी इमिग्रेन्ट भिसा कार्यक्रममार्फत हरेक वर्ष करिब ५० हजार आप्रवासी भिसा प्रदान गरिँदै आएको छ। विभिन्न मुलुकका नागरिकलाई अमेरिकामा स्थायी बसोबासको अवसर दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुँदै आएको हो।
तर कार्यक्रम किन स्थगित गरिएको हो र कति समयसम्म रोकिने भन्ने विषयमा गृह सुरक्षा मन्त्रालयले हालसम्म कुनै स्पष्ट विवरण सार्वजनिक गरेको छैन। कार्यक्रम स्थगित भएसँगै डीभीमार्फत अमेरिका जाने तयारीमा रहेका आवेदकहरू अन्योलमा परेका छन्। यसबारे USCIS वा अमेरिकी गृह सुरक्षा मन्त्रालयबाट औपचारिक प्रतिक्रिया आएको छैन।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले भने Brown University मा दुई जनाको ज्यान जाने गरी भएको गोलीकाण्डसँग यो निर्णय जोडेर चर्चा गरेका छन्। समाचारहरूमा उल्लेख भएअनुसार, उक्त घटनाका अभियुक्त डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको पुष्टि भएपछि कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको दाबी गरिएको छ।
डीभी कार्यक्रमको आलोचक रहँदै आएका राष्ट्रपति Donald Trump को दबाबमा यो निर्णय आएको हुनसक्ने अड्कल पनि सञ्चार माध्यमहरूले गरेका छन्।

