जकार्ता, सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्ताबाट योग्यकार्तातर्फ गइरहेको एक कोच बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा यो दुर्घटना भएको हो ।स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोका अनुसार उक्त बस निकै उच्च गतिमा यात्रारत अवस्थामा मोडमा पुगेको थियो । मोड पार गर्ने क्रममा बस सडकको अवरोधसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको उहाँले विज्ञप्तिमार्फत बताउनुभयो ।
“हामीले घटनास्थलबाट ३४ जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका छौँ”, बुडियोनोले जानकारी भन्नुभयो । उहाँका अनुसार १५ जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने गम्भीर घाइते एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।दुर्घटनामा परेका धेरै घाइतेलाई उपचारका लागि सेमरङ सहरका विभिन्न अस्पतालमा लगिएको उहाँले बताउनुभयो । उद्धार एजेन्सीले सार्वजनिक गरेको भिडियो फुटेजमा बस छेउमा पल्टिएको अवस्थामा देखिन्छ, जहाँ उद्धारकर्मीहरूले पीडितहरूलाई बडी ब्यागमा राख्दै स्थानान्तरण गरिरहेका दृश्यहरू देख्न सकिन्छ ।
इन्डोनेसियामा यस प्रकारका यातायात दुर्घटनाहरू प्रायः हुने गरेका छन् । दक्षिणपूर्व एसियाको विशाल द्वीपसमूह राष्ट्रमा धेरै सवारी साधनहरू पुराना हुनु, मर्मतसम्भारको कमी रहनु तथा सडक नियमहरूको नियमित उल्लङ्घन हुनु दुर्घटनाका प्रमुख कारण मानिन्छन् । यसअघि सन् २०२४ मा ईद अल–फितर पर्वका अवसरमा मानिसहरूको आवतजावत बढेका बेला व्यस्त राजमार्गमा एउटा बस र कार आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१९ मा सुमात्राको पश्चिमी भागमा एउटा बस खोलामा खस्दा कम्तीमा ३५ जनाले ज्यान गुमाएका थिए ।


