काठमाडौँ, नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा पुगेर आफूहरूलाई पार्टीको आधिकारिकता दिनुपर्ने दाबी गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पुगेको टोलीले विशेष महाधिवेशनका प्रतिनिधिका हस्ताक्षर फिर्ता गरिएको, केन्द्रीय कार्यसमितिले निर्णय नगरेको र ५५ भन्दा बढी जिल्ला सभापति आफूहरूको पक्षमा रहेको तर्क प्रस्तुत गरेको थियो।
त्यस्तै, नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनमार्फत गगन थापा र विश्वप्रकाश समूह कांग्रेसबाट अलग भएको टिप्पणी गरे। देउवा समूहको आयोग भ्रमणपछि गगन थापा नेतृत्वको कार्यसमिति पनि शुक्रबार दिउँसो निर्वाचन आयोग पुग्ने तयारीमा छ। आयोगले चुनाव चिह्न र पार्टी आधिकारिकताबारे छिटो निर्णय लिनुपर्ने दबाबमा परेको छ।


