कराँची, पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजा मलमा भएको भीषण आगलागीका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ । स्थानीय सरकारका एक नाम नखुलाइएको प्रवक्ताले शुक्रबार उक्त जानकारी दिएका हुन् ।जनवरी १७ मा तीन तले उक्त मलमा आगलागी भएको थियो। । घटनाको छ दिन बितिसक्दा पनि आगलागीको वास्तविक कारणबारे अनुसन्धानकर्ताले औपचारिक रूपमा केही खुलाएका छैनन् ।प्रवक्ताका अनुसार हालसम्म ६७ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने डीएनए परीक्षण प्रक्रिया अझै जारी छ । डीएनए विश्लेषणमार्फत आठ जनाको पहिचान पुष्टि भइसकेको बताइएको छ ।
उद्धार र शव पहिचानको कार्य सुस्त गतिमा अघि बढेको भन्दै पीडित परिवारहरूले असन्तोष व्यक्त गरेका छन् । आफ्ना बेपत्ता आफन्तको खोजीमा ५० भन्दा बढी परिवारले डीएनए नमुना दिएका छन् ।प्रान्तीय सरकारले मृतक प्रत्येक परिवारलाई एक करोड पाकिस्तानी रुपैयाँ (करिब ३५ हजार ७२० अमेरिकी डलर) क्षतिपूर्ति दिने घोषणा गरेको छ । साथै, मलभित्र रहेका करिब एक हजार २०० पसलेलाई पनि क्षतिपूर्ति प्रदान गरिने बताइएको छ ।
कराँचीका बजार र कारखानामा कमजोर पूर्वाधारका कारण आगलागीका घटना सामान्य भए पनि यति ठूलो स्तरको आगलागी दुर्लभ मानिन्छ । प्रान्तीय सरकारले मल र बजारहरूमा अग्नि सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न पहल गरिरहेको जनाएको छ ।


