Wednesday 27 May 2026 / बुधबार, १३ जेष्ठ २०८३

नमूना कलेज अफ फेसन टेक्नोलोजीको २०औँ स्नातक ब्याचद्वारा आयोजना हुने भव्य ग्राजुएसन फेसन शो “विविधायन सौन्दर्यम्का लागि मोडेल छनोट सम्पन्न भएको छ । सो फेसन कार्यक्रम २०२६ मार्च २८ (चैत १४, २०८२) मा झम्सीखेलस्थित द प्लाजामा आयोजना हुँदैछ । यो कार्यक्रममा नेपालको प्राकृतिक जैविक विविधताको अनुपम दृश्यको सुन्दरतालाई फेसनमार्फत प्रस्तुत गर्दै जैविक विविधताको उत्सवका रूपमा मनाउने तयारी गरिएको हो । “विविधताबाट जन्मिएको सौन्दर्य” भन्ने सोचमा आधारित यो शोमा छ वटा फरक–फरक कलेक्सनमार्फत ६२ वटा विशेष डिजाइन र छ वटा क्रिएटिभ डिजाइन प्रस्तुत गरिनेछ । जैविक विविधतामा समेटिएका विभिन्न सुन्दर तत्वहरुको प्रेरणा लिएर बनाइएका पहिरनले प्रकृति, जीवनशैली र आधुनिकताबीचको सन्तुलन देखाउनेछन् र वातावरण संरक्षणको सन्देश पनि दिनेछन् ।

यस फेसन शोमा ६२ जना स्नातक अध्ययन गर्दै गरेका डिजाइनरका सिर्जना छ वटा थिममा प्रस्तुत गरिनेछ, जसलाई ६ जना पुरुष र २६ जना महिला व्यवसायिक मोडेलहरुले आकर्षक ढंगबाट रनवेमा प्रस्तुत गर्नेछन् । यस कार्यक्रमका लागि अडिसन दिएका करिब तीन सय जना मोडेलहरूबाट उनीहरुको हिँडाइ, प्रस्तुति, व्यक्तित्व, शारीरिक बनावट, अनुभव र पहिरन डिजाइनको विषयसँग सुहाउने पक्षलाई आधार मानेर सावधानीपूर्वक छनोट गरिएका हुन् । कार्यक्रममा समावेश छ वटा मुख्य सिक्वेन्स मार्फत शक्ति, परिवर्तन, कल्पना, वातावरण संरक्षण र नेपालको वनस्पतिक सम्पदाका कथा प्रस्तुत गरिनेछ ।

यो ग्राजुएसन फेसन शो पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धित ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्ट कार्यक्रमको एक महत्वपूर्ण हिस्सा हो । यसले नमुना कलेज अफ फेसन टेक्नोलोजीको कक्षाकोठाको अध्ययनलाई वास्तविक पेशागत अनुभवसँग जोड्ने परम्परालाई निरन्तरता दिएको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना कलेक्सन डिजाइन गर्ने मात्र होइन, सम्पूर्ण कार्यक्रमको योजना, उत्पादन, प्रचार–प्रसार र प्रस्तुति समेत आफैँ व्यवस्थापन गर्छन्, जुन उनीहरूको अन्तिम शैक्षिक मूल्यांकनको एक महत्वपूर्ण अङ्ग हो ।

सन् २००२ मा नेपालकै अग्रणी फेसन डिजाइनरका रुपमा परिचित फेसनविज्ञ श्रीमती ज्ञानी शोभा तुलाधरद्वारा स्थापना गरिएको नमुना कलेज अफ फेसन टेक्नोलोजीले नेपालमा पहिलो पटक फेसन शिक्षाको सुरुवात गरेको हो र आजसम्म पनि सिर्जनशीलता, सीप र संस्कृतिको सम्मानसहित नयाँ डिजाइनर तयार गर्दै आएको छ । यस कार्यक्रममार्फत विद्यार्थीको क्षमता परीक्षण गर्नुका साथै फेसनलाई एक गम्भीर अध्ययन र पेशाका रूपमा चिनाउने, स्थानीय डिजाइन र सामग्रीलाई प्रोत्साहन गर्ने र विविधता, संस्कृति र सिर्जनशीलताबाट जन्मिने सौन्दर्यलाई उत्सवका रूपमा मनाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय