आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारीलाई प्राप्त गरेको छ । राष्ट्रिय फ्रेन्चाइज धारक ग्रीन आर्ट मिडिया प्रा.लि.ले महाराजगञ्जस्थित द हाइट रेस्ट्रो एण्ड वेलनेसमा आयोजित विशेष समारोहबीच सेजललाई ताज पहि¥याएको हो । गत वर्षकी विजेता संस्कृति भट्टले उनलाई ताज हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको जिम्मेवारी औपचारिक रूपमा सुम्पिएकी थिइन् । ताज ग्रहणपछि सेजलले यस अवसरलाई आफ्नो जीवनको ऐतिहासिक क्षणका रूपमा व्याख्या गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक संस्कृति, पर्यावरणीय चेतना र पर्यटन सम्भावनालाई प्रभावकारी ढंगले प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सशक्त तयारीस्वरूप राष्ट्रिय निर्देशक अनिला श्रेष्ठको मार्गदर्शनमा विशेष ग्रुमिङ तथा प्रशिक्षण प्राप्त गर्नेछिन् । सन् २०१५ देखि सञ्चालनमा आएको यो प्रतियोगिता ‘ब्युटी फर इको’ नारासहित एल.टी.सि.पि. अर्गनाइजेशनद्वारा आयोजना हुँदै आएको छ, जसको मुख्य उद्देश्य वातावरण संरक्षण र सांस्कृतिक आदान–प्रदानलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्नु हो ।

नेपालको मिस इको इन्टरनेशनल यात्रा सन् २०१५ मा प्रिन्सा श्रेष्ठले पहिलो संस्करणमा सहभागिता जनाउँदै सुरु भएको थियो । सन् २०१६ मा नग्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै ‘बेस्ट टुरिज्म भिडियो’ अवार्ड जितेर देशको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेकी थिइन् । त्यसपछिका वर्षहरूमा रोनाली अमात्याले ‘मिस कन्जिनियलिटी’ उपाधि जितेर नेपालको नाम उचालिन् भने २०१८ मा मौनता लामा प्रतिस्पर्धामा सहभागी भइन् । सन् २०१९ मा मुना गौचनले उत्कृष्ट २० भित्र स्थान सुरक्षित गर्दै उल्लेखनीय उपलब्धि हासिल गरिन् ।२०२१ मा अनुश्मा रायमाझीले ‘मिस इको एशिया’ विशेष अवार्ड जितेर नेपाललाई थप गौरवान्वित बनाइन् । २०२२ मा सोफिया भुजेल उत्कृष्ट २० मा पर्न सफल भइन् भने २०२३ मा रक्षा उप्रेती उत्कृष्ट २१ सम्म पुगिन् । हालसालै, २०२५ संस्करणमा संस्कृति भट्टले नेपालको प्रतिनिधित्व गर्दै देशको निरन्तर र प्रभावशाली उपस्थिति कायम राखिन् ।
यसरी वर्षेनि उल्लेखनीय सहभागिता र उपलब्धिमार्फत नेपालले मिस इको इन्टरनेशनल मञ्चमा आफ्नो सशक्त पहिचान निर्माण गर्दै आएको छ। अब सेजल राजभण्डारीको सहभागितासँगै नेपालको पर्यावरणीय सन्देश र सांस्कृतिक गरिमा पुनः विश्वमञ्चमा उजागर हुने अपेक्षा गरिएको छ ।


