संखुवासभा, मकालु गाउँपालिका–५ र २ लाई जोड्ने अरुण नदीमाथिको बेलिब्रिज शनिबार बिहान भत्किँदा उक्त सडकखण्डमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बिहान करिब ९ बजे सिमेन्ट बोकेको प्रदेश–०३–००१ क २९२० नम्बरको ट्रक पुल तर्दै गर्दा पुल भाँचिएको हो। पुल भत्किएसँगै ट्रक अरुण नदीमा खसेको थियो।
दुर्घटनामा ट्रक चालक ४० वर्षीय अर्जुन श्रेष्ठ (बाह्रबिसे नगरपालिका–९, सिन्धुपाल्चोक) गम्भीर घाइते भएका छन्। उक्त ट्रक निर्माणाधीन कसुवा हाइड्रो पावर कम्पनीका लागि निर्माण सामग्री बोकेर जाँदै थियो।
पुल भत्किएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यो सडक मकालु बेस क्याम्प जाने पदयात्री तथा पर्वतारोहीहरूले समेत प्रयोग गर्ने महत्वपूर्ण मार्ग हो।
पुल मर्मत तथा वैकल्पिक यातायात व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रहरीले जनाएको छ। साथै, कसुवा हाइड्रो पावरसँग पुल पुनर्निर्माण र मर्मतसम्बन्धी छलफल सुरु गरिएको छ।


