काठमाडौं, होली पर्व र आगामी निर्वाचनका कारण पछिल्लो २० दिनमा काठमाडौं उपत्यकाबाट ८ लाख ८४ हजार ९५ जना यात्रु बाहिरिएका छन्। यात्रु बाहिरिने क्रम बढेसँगै उपत्यकाका सडकहरू यतिबेला प्रायः सुनसान देखिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाहका अनुसार सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन उल्लेख्य रूपमा घटेको छ।
निर्वाचन सुरक्षामा अधिकांश ट्राफिक प्रहरी खटिएकाले सीमित जनशक्तिबाट ट्राफिक व्यवस्थापन भइरहेको उनले बताए। उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई नागढुंगा, बालाजु, सामाखुसी, भक्तपुरको जगाती तथा ललितपुरको फर्पिङ र चापागाउँ नाकामा जाँच गरी यात्रुलाई सचेतना दिएर मात्र पठाउने गरिएको छ। विशेषगरी मोटरसाइकल यात्रुलाई तीव्र गतिका कारण हुन सक्ने दुर्घटना तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरिएको प्रहरीले जनाएको छ।


