गुल्मी, प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। गएराति अबेरसम्म सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको छ।
निर्वाचन कार्यालयका अनुसार गुल्मी–१ मा रास्वपाले ३० हजार ६५७ मत प्राप्त गरेको छ। नेकपा एमालेले १४ हजार १३०, नेपाली कांग्रेसले १२ हजार ७३१ मत र नेपाल कम्युनिस्ट पार्टीले ३ हजार ३३ मत पाएको मुख्य निर्वाचन अधिकृत न्यायाधीश कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गुल्मी–१ मा कुल १ लाख २२ हजार १८६ मतदाता रहेकोमा ६४ हजार ७८७ जनाले मतदान गरेका थिए। यस क्षेत्रबाट प्रत्यक्षतर्फ रास्वपा उम्मेदवार सागर ढकाल निर्वाचित भएका छन्।
त्यस्तै गुल्मी–२ मा पनि रास्वपा पहिलो बनेको छ। यस क्षेत्रमा रास्वपाले २१ हजार १९१ मत प्राप्त गरेको छ। नेकपा एमालेले १४ हजार ७१५, नेपाली कांग्रेसले १२ हजार ५६० र नेपाल कम्युनिस्ट पार्टीले २ हजार ७५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिहर पौडेलले बताए।


