७ देखि १३ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाहरूको लागि प्रतिष्ठित कार्यक्रम मिस एण्ड मास्टर नेपाल जुनियर २०२६ प्रतियोगिता, राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा जेसिका सुबेदीले मिस नेपाल जुनियर २०२६ को ताज पहिरिन् भने ओज्विन जिन गुरुङले मास्टर नेपाल जुनियर २०२६ को उपाधि उचाल्न सफल भए । मिसतर्फ फस्ट रनर–अपमा नेहारिका चौधरी र मास्टर तर्फ आराव्य श्रेष्ठ चयन भएका थिए भने सेकेन्ड रनरअपमा मिसतर्फ आध्या वर्मा र मास्टर तर्फ अथर्व ठाकुर छानिएका थिए । थर्ड रनर–अपमा मिस तर्फ आराध्या खड्का र मास्टरतर्फ मायुक डंगोल चयन भएका थिए भने फोर्थ रनर–अपमा मिसतर्फ आहाना राई र मास्टर तर्फ सम्पूर्ण राज थापा छनौट भएका थिए ।

कार्यक्रम फेसन कोरियोग्राफर र संचारकर्मी रोजिन शाक्य द्वारा कोरियोग्राफ र होस्ट गरिएको थियो । यसलाई ह्वाइट फेदर्स इन्टरटेन्मेन्ट, त्रिदेवी श्रेष्ठको प्रतिनिधित्वमा आयोजना गरिएको थियो भने शानु खानको नेतृत्वमा यूहान इन्टरनेशनल इभेन्ट्सले व्यवस्थापन गरेको थियो । जिनोपेले आधिकारिक भोटिङ पार्टनरको रूपमा सहभागिता सुनिश्चित गर्दै दर्शकहरूको सक्रिय सहभागिता थपेको थियो । यस वर्ष प्रतियोगितामा १४ बालिका र ११ जना बालक सहभागी भएका थिए, जसले आफ्नो प्रतिभा, आत्मविश्वास र सृजनात्मकता प्रदर्शन गर्दै दर्शकहरूलाई मोहित पारेका थिए ।

विशेष पुरस्कारतर्फ पब्लिक च्वाइस अवार्डमा जेसिका सुबेदी (मिस) र ओज्विन जिन गुरुङ (मास्टर) विजेता भए भने नेहारिका चौधरी (मिस रनर–अप) र अथर्व ठाकुर (मास्टर रनर–अप) पनि सम्मानित भए । भ्यूअर्स च्वाइस अवार्डमा आहाना राई (मिस), मायुक डंगोल (मास्टर), मान्यता कोईराला (मिस रनर–अप) र दिव्यम विश्वकर्मा (मास्टर रनर–अप) विजेताको रूपमा सम्मानित भए । म्यानेजमेन्ट च्वाइस अवार्ड आध्या वर्मा (मिस) र श्रेयश थापा (मास्टर) लाई प्रदान गरियो ।

मिस एण्ड मास्टर ट्यालेन्ट अवार्डले बालबालिकाहरूको कौशल र सिर्जनात्मकतालाई प्रदर्शन ग¥यो । जुनियर ट्यालेन्ट विजेतामा जेसिका सुबेदी र ओज्विन जिन गुरुङ रहेका थिए भने सिनियर ट्यालेन्ट विजेता आराध्या खड्का (मिस) र सम्पूर्ण राज थापा (मास्टर) थिए । मिस फोटोजेनिकमा आश्वी घिमिरे र मास्टर फोटोजेनिकमा दिव्यम विश्वकर्मा पुरस्कृत भएका थिए । समग्रमा मिस एण्ड मास्टर नेपाल जुनियर २०२६ केवल प्रतियोगिता मात्र नभई, प्रतिभा, आत्मविश्वास र व्यक्तिगत पहिचानको उत्सव पनि रह्यो ।


