नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी) ले आफ्नो २०औँ ग्राजुएसन फेशन शो “विविधायन सौन्दर्यम्” भव्य रूपमा सम्पन्न गरेको छ, जसले सिर्जनशीलता, सौन्दर्यबोध र कलात्मक अभिव्यक्तिको अद्वितीय संयोजन प्रस्तुत गर्यो । २८ मार्च २०२६, शनिबार झम्सिखेल, ललितपुरस्थित द प्लाजा नेपालमा आयोजित यस कार्यक्रमले रनवेलाई जीवित कलात्मक मञ्चमा रूपान्तरण गर्दै फेशन र प्रकृतिबीचको गहिरो सम्बन्धलाई प्रभावशाली ढंगले उजागर गर्यो। फेशन डिजाइनिङमा स्नातक हुन लागेका ६२ जना विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मक प्रयासलाई प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा छ वटा विषयगत संग्रहहरू प्रस्तुत गरिएका थिए । यी संग्रहहरूले नेपालको समृद्ध प्राकृतिक भू–दृश्य, जैविक विविधता र सांस्कृतिक संवेदनालाई फेशनको माध्यमबाट नयाँ कथामा रूपान्तरण गरेका थिए।
कार्यक्रमको मूल अवधारणा “विविधायन सौन्दर्यम्” अर्थात् विविधतामा निहित सौन्दर्य थियो । नेपालका हिमाल, वन, सिमसार क्षेत्र, वन्यजन्तु तथा फूलहरूको विविधताबाट प्रेरणा लिँदै डिजाइनरहरूले प्रकृतिका विभिन्न आयामहरूलाई समकालीन फेशन कथामा रूपान्तरण गरेका थिए । आकर्षक रनवे सेटअपमा ६२ वटा विशिष्ट डिजाइनर पोशाकका साथै छ वटा विशेष “क्रिएटिभ मास्टरपिस” प्रस्तुत गरिएको थियो, जसले प्रकृति, संस्कृति र आधुनिक डिजाइनबीचको सन्तुलित सम्बन्धलाई उजागर गर्यो।

कार्यक्रमको औपचारिक उद्घाटन नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको प्रेरणादायी रनवे उपस्थितिबाट गरिएको थियो । उनी प्रमोशनल मोडलहरूसँग रनवेमा देखिँदै कार्यक्रमको प्रारम्भ गरिन् । कार्यक्रमको सम्पूर्ण कोरियोग्राफी चर्चित फेशन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले गरेका थिए, जसको दृश्यात्मक प्रस्तुति र समन्वयले सम्पूर्ण संग्रहहरूलाई प्रभावशाली बनाएको थियो । कार्यक्रममा व्यावसायिक मोडलहरू तथा एनसीएफटीका विद्यार्थीहरू गरी कुल ३२ जना मोडलहरूले डिजाइनरहरूको सिर्जनालाई रनवेमा जीवन्त रूपमा प्रस्तुत गरेका थिए । कार्यक्रमको व्यवस्थापनमा २०औँ ब्याचका विद्यार्थीहरूको सक्रिय भूमिका रहेको थियो । रिया श्रेष्ठ, ईशा महर्जन, सन्ध्या निरौला र सरस्वती सिंहको समन्वयमा कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गरिएको थियो ।

फेशनमय साँझको पहिलो संग्रह “नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स फ्लो” ले हिमनदी र पानीबीचको गतिशील सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गरेको थियो । यस संग्रहमा अनिता बम्जन, सुयाशा भट्टराई, संगिता बालाम्पाकी मगर, रञ्जिता लामा, दीपा लिम्बु, सम्झना चौधरी, सरस्वती सिंह, प्रतिभा चौधरी, दीक्षा अधिकारी, प्रतिमा गुरुङ र ज्योति राईका डिजाइनहरू समावेश थिए ।

त्यसपछि प्रस्तुत गरिएको “इरिडेसन्ट शेल्सः आर्मर सफ्टेन्ड बाइ एलेगेन्स” संग्रह भृंगाहरूको सुरक्षात्मक बाहिरी संरचनाबाट प्रेरित थियो । यस संग्रहमा मेनुका रोका, अस्मिता श्रेष्ठ, जुना थापा, ऐश्वर्या पुन, अमिता थापा मगर, स्मारिका तिमिल्सिना, पुष्पा कँडेल, कशिश श्रेष्ठ, कविता बीके र सुष्मिता घिसिङका सिर्जनाहरू देख्न पाइयो ।

तेस्रो संग्रह “आवरण मृत्तिकाः बिनिथ, बियोन्ड, बिकमिङ” ले माटोका तहहरूभित्र हुने प्राकृतिक परिवर्तन र जीवन प्रक्रियालाई विषय बनाएको थियो । यसमा रिया श्रेष्ठ, सुष्मिता महर्जन, सोनिया महर्जन, तिसा महर्जन, सन्ध्या निरौला, आरती गिरी, एमी श्रेष्ठ, रोजिना खत्री, अनुशा सुवाल र कौशल मोटेका डिजाइनहरू प्रस्तुत गरिएका थिए ।

हिमाली क्षेत्रको सौन्दर्यबाट प्रेरित “एभियोराः विङ्स अफ द हिमालय” संग्रहले उडान, स्वतन्त्रता र आकांक्षाको भावलाई केन्द्रमा राखेको थियो । यस संग्रहमा निलिमा दाहाल, सेलिना शाक्य, प्रमिला सिन्जापति, आलिशा मुखिया, निकेता महर्जन, प्रकाश सापकोटा, प्रियंका मेहता, बसन्त थापा मगर, पूर्णिमा सेन र अस्मिता घिमिरेका सिर्जनाहरू समावेश थिए ।

पर्यावरणीय सन्देश बोकेको “रेड लिस्ट रिभेरी” संग्रहले संकटग्रस्त नेपाली वन्यजन्तु—हिमचितुवा, रातो पाण्डा र घडियाल—प्रति जनचेतना अभिवृद्धि गर्ने प्रयास गरेको थियो । यसमा सम्मृद्धि महर्जन, स्वस्तिका श्रेष्ठ, ईशा महर्जन, अमृता लिम्बु, आस्था फुयाल, रोजिलिना श्रेष्ठ, प्रेरणा न्यौपाने, रितिशा खड्का, अनुसुया गुरुङ र दिया गुरुङका डिजाइनहरू समावेश थिए ।

कार्यक्रमको अन्तिम संग्रह “वनस्पति कुसुमः फरेस्ट ब्लुम्स अफ नेपाल” ले नेपालको पुष्पीय विविधतालाई काव्यमय शैलीमा प्रस्तुत गर्यो । यस अन्तर्गत आशिष शर्मा, कृति लिम्बु, प्रज्वल चौधरी, नेहा चौधरी, कामाक्षी थापा, मनीषा सिन्जापति, लिना आचार्य, प्रीति कुमारी, सृष्टि ढकाल, दिव्याना लिम्बु र नीतु कठायतका सिर्जनाहरू प्रदर्शन गरिएका थिए । यी सबै संग्रहहरूले समकालीन नेपाली फेशनको विकासशील पहिचानलाई स्पष्ट रूपमा उजागर गरे । यहाँ फेशन केवल वस्त्र निर्माणमा सीमित नरही विचार, कथा र भावनाको सशक्त माध्यमका रूपमा प्रस्तुत भएको देखियो ।

२०औँ ब्याचका विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मक कार्यको मूल्यांकन गर्न प्रतिष्ठित निर्णायक मण्डलको सहभागिता रहेको थियो । निर्णायकहरूमा सीटीईभीटीका पूर्व उपाध्यक्ष डा. कुल बहादुर बस्नेत, साखः ग्रुपका अध्यक्ष किरण प्रकाश साखः, पद्मकन्या बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख प्रा. डा. जयलक्ष्मी प्रधान, फेशन शिक्षाविद् राजेन्द्र सिंह, फेयर–ट्रेड ग्रुप नेपालका डा. सुनिल चित्रकार, फेशन डिजाइनरद्वय मुक्ता श्रेष्ठ र मनिश राई, साथै मिस सुप्रानेसनलका नेशनल डाइरेक्टर तथा मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्याय रहेका थिए ।

कार्यक्रमका क्रममा एनसीएफटी फेशन क्याटलगको चौथो संस्करण पनि सार्वजनिक गरिएको थियो । उक्त क्याटलग पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा. कल्याणी मिश्रा त्रिपाठी, व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर, मिस नेपाल कज्मो २०२५ दिपशिखा नेपाल तथा मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारीले संयुक्त रूपमा विमोचन गरेका थिए । सो अवसरमा कलेजका भाइस प्रिन्सिपल जीवेश्वर लाल श्रेष्ठ तथा एनसीएफटीको १९औँ ब्याचका कार्यक्रम संयोजकहरूको उपस्थिति पनि रहेको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सञ्चालित ब्याचलर अफ फेशन डिजाइन एन्ड म्यानेजमेन्ट (B.F.D.M.) कार्यक्रमको महत्वपूर्ण शैक्षिक अङ्गका रूपमा रहेको यस ग्राजुएसन फेशन शोले विद्यार्थीहरूलाई आफ्नो अनुसन्धान, सिर्जना र डिजाइन नवप्रयोगहरूलाई व्यावसायिक स्तरमा प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ ।

