Wednesday 15 April 2026 / बिहीबार, ३ बैशाख २०८३

काठमाडौं, बागमती प्रदेश सरकारले पेट्रोल र डिजेलबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ। श्रम, रोजगार तथा यातायातमन्त्रीस्तरीय निर्णयमार्फत शुक्रबार (चैत २७) नयाँ भाडादर निर्धारण गरिएको हो, जुन शनिबार (चैत २८)देखि लागू भइसकेको छ।
नयाँ व्यवस्था अनुसार काठमाडौं उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीको न्यूनतम भाडा २४ रुपैयाँ कायम गरिएको छ, जुन पाँच किलोमिटरसम्मको दूरीका लागि लागू हुन्छ। यसअघि सो दूरीका लागि १९ रुपैयाँ मात्र भाडा थियो। दूरीअनुसार भाडा पनि क्रमशः बढाइएको छ। अब १० किलोमिटरसम्म ३३ रुपैयाँ, १५ किलोमिटरसम्म ३९ रुपैयाँ र २० किलोमिटरसम्म ४४ रुपैयाँ भाडा तोकिएको छ। २० किलोमिटरभन्दा माथि यात्रा गर्दा ५० रुपैयाँ भाडा लाग्नेछ।
ट्याक्सी सेवामा पनि भाडादर समायोजन गरिएको छ। अब ट्याक्सीको सुरुवाती शुल्क ५८ रुपैयाँ तोकिएको छ भने प्रत्येक २०० मिटरमा १२ रुपैयाँ थप लाग्नेछ।
प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारीसाधनको भाडादर भने यथावत् राखिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले नयाँ भाडादर पेट्रोल र डिजेलबाट सञ्चालन हुने सवारीसाधनमा मात्र लागू भएको स्पष्ट पारे।
प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनको भाडादर प्रदेश सरकारले निर्धारण गर्ने व्यवस्था छ भने अन्तरप्रदेश भाडादर भने केन्द्र सरकारले तोक्दै आएको छ।
लामो दूरीतर्फ प्रदेशभित्र सबैभन्दा महँगो भाडा नयाँ बसपार्क–खुर्कोट–मन्थली–तामाकोशी–जिरी रुटमा १ हजार २१८ रुपैयाँ तोकिएको छ भने सबैभन्दा सस्तो भाडा काठमाडौं–कलंकी–नागढुंगा–दहचोक रुटमा ६० रुपैयाँ कायम गरिएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि भाडादर समायोजन गरिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय