काठमाडौं, ६ वैशाख सिजन मिडियाद्वारा आयोजित ‘जुनियर स्कूल प्रिन्सेस २०२६’ अन्तर्गत ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ।


राजधानीस्थित स्वस्तीश्री गुरुकुल आइभी वल्ड स्कुलमा आयोजित कार्यक्रममा सहभागी १९ जना प्रतियोगीहरूले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगीहरूले नृत्य, गायन, वाद्यवादन तथा वक्तृत्वकलामार्फत विविध प्रस्तुति दिएका थिए।


कार्यक्रममा नितिशा अग्रवाल र श्रृष्टि लामाले अंग्रेजी गीतमा नृत्य प्रस्तुत गरे भने केहकशा श्रेष्ठले नेवारी गीतमा नृत्य प्रस्तुत गरिन्। त्यसैगरी मेगन मोक्टान र श्रीतिजा पुरीले “मायालाई के देऊ म बैना” गीतमा संयुक्त नृत्य प्रस्तुत गरेका थिए। अग्रता ढकालले “फूलको आँखामा फूलै संसार” गीत गाएर दर्शकलाई मनोरञ्जन दिइन् भने दीप्ता श्रेष्ठले कुमारी नृत्य प्रस्तुत गरिन्।

त्यस्तै आर्युना चन्दले “पर्खी बसौँला” गीतमा नृत्य प्रस्तुत गर्दा सम्राज्ञी श्रेष्ठले नेवारी गीत “सचिका चिन्हा” मा नृत्य प्रस्तुत गरिन्। एसल खनालले “सिरैमा सिरबन्दी” गीतमा नृत्य प्रस्तुत गरिन् भने इता चेनराज भण्डारीले “हाम्रो नेपालमा” गीत गिटारसहित गाएर ध्यान आकर्षित गरिन्।

खुशी राई, रिन्चेन शेर्पा, साइशा पाण्डे र निभानी अधिकारीले पनि नेपाली गीतमा नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा देखाएका थिए। त्यसैगरी श्रीमई कोइरालाले “बादल वर्षा बिजुली” गीत गाइन्। कार्यक्रममा सरना केसीले अपाङ्ग बालसेवा केन्द्रको भ्रमणबारे भावपूर्ण वक्तव्य प्रस्तुत गरिन्। सिमिरा नेपाल र प्राप्ति सुनारले नेपाली गीत गाएर दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रमको निर्णायक मण्डलमा एसइई प्रिन्सेस विजेता प्राप्ती श्रेष्ठ, ज्यास्मीन धमेना, नृत्य निर्देशक मनिता गुरुङ तथा जुनियर स्कूलका विजेता जेसीका ढकाल र प्रासिया पंगेनी रहेका थिए।

उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी वैशाख ११ गते राष्ट्रिय नाचघर, जमलमा हुने आयोजक संस्थाकी कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी दिएकी छन्।




