काठमाडौँ, हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भाग नजिक सक्रिय रहेको छ।
यसको प्रभावले यतिबेला कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा बदली रहेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशको पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थानहरूमा तथा मधेस र कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति देशभर सामान्य बदली रहने मौसम विभागले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्नेछ।
विशेषगरी लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।


