Wednesday 13 May 2026 / बुधबार, ३० बैशाख २०८३

काठमाडौं, अस्पतालको आकस्मिक कक्षमा रातभर जाग्राम बसेर बिरामीको सास जोगाउने हातहरू, कहिलेकाहीँ आफ्नै पीडा लुकाएर मुस्कुराइरहेका हुन्छन् । सेतो कोटभित्र कति थकान, कति आँसु र कति त्याग लुकेको हुन्छ भन्ने कुरा धेरैले देख्दैनन् । तर, मंगलबार नेपाल मेडिकल कलेजको सभा हलमा मञ्चन गरिएको एउटा नाटकले त्यही अदृश्य पीडालाई सबैको आँखाअघि जीवित बनाइदियो ।अन्तराष्ट्रिय नर्सिङ डेका अवसरमा नर्सिङ विभागले आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको ‘सेतो कोटको पछाडिको पीडा’ नाटकले केवल अभिनय मात्र गरेन, स्वास्थ्यकर्मीहरूको भोगाइलाई सजीव रूपमा दर्शायो । स्टेजमा देखाइएका दृश्यहरू कुनै काल्पनिक कथा थिएनन्, ती पछिल्लाे समय हरेक स्वास्थ्य संस्थाहरूबाट उठेका यथार्थ थिए ।

नाटक सुरु भएसँगै सभाहल भावुक बन्यो । एउटी आमाले आफ्नो सम्पूर्ण जीवनको संघर्ष सन्तानलाई डाक्टर बनाउन समर्पित गरेको कथा थियो । अर्कोतर्फ एउटी नर्स थिइन्, जसले आफ्नै काखे शिशुलाई घरमा छाडेर अस्पतालमा बिरामीको सेवा गरिरहेकी थिइन् । परिवारभन्दा पेशालाई प्राथमिकता दिने ती पात्रहरूको कथा हेर्दै गर्दा धेरै चिकित्सक र नर्सहरू आफ्नै जीवन सम्झेर भावुक बने । नाटकले एउटा कठोर यथार्थ उजागर गर्‍यो—स्वास्थ्यकर्मीहरू दिनरात बिरामीको जीवन बचाउन संघर्ष गर्छन्, तर बिरामी बचाउन नसकिएको क्षणमा उनीहरू नै दोषी ठहरिन्छन् । बिरामीको मृत्यु भएपछि उपचारमा खटिएका डाक्टर र नर्समाथि हुने आक्रमण, दुर्व्यवहार र मानसिक यातनालाई कलाकारहरूले यति मार्मिक ढंगले प्रस्तुत गरे कि दर्शकदीर्घामा बसेकाहरूका आँखा रसाए ।

कार्यक्रममा उपस्थित धेरै चिकित्सक र नर्सहरूका लागि त्यो नाटक केवल प्रस्तुति थिएन, आफ्नै जीवनको प्रतिबिम्ब थियो । लगातार डबल ड्युटी गर्दा परिवारलाई समय दिन नसक्नु, चाडपर्व र संस्कारमा सहभागी हुन नपाउनु, बिरामीको मृत्यु हुँदा आफैं अपराधीझैँ बन्नुपर्ने अवस्था—यी सबै दृश्यहरूले सभाहललाई केहीबेर मौन बनायो । मंगलबार नेपाल मेडिकल कलेजको स्टेजमा केवल नाटक मञ्चन भएन, सेतो कोटभित्र लुकेका अनगिन्ती अव्यक्त कथाहरू बोलिरहेका थिए । सेवा गर्ने हातहरू पनि संवेदनशील मुटु बोकेका मानिस नै हुन् भन्ने सन्देशले उपस्थित सबैलाई केहीबेर गहिरो सोचमा डुबायो ।
कार्यक्रमकी प्रमुख अतिथि तथा कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नाटकले स्वास्थ्यकर्मीहरूको वास्तविक पीडालाई अत्यन्त यथार्थ ढंगले प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुनैपनि स्वास्थ्यकर्मी बिरामीलाई हानि पुर्‍याउने उद्देश्यले उपचार गर्दैन । उसले अन्तिम क्षणसम्म इमान्दारितापूर्वक जीवन बचाउने प्रयास गरिरहेको हुन्छ ।” स्वास्थ्यकर्मीलाई भगवानको रूपमा हेरेर असम्भव अपेक्षा गर्नुको सट्टा सम्मान र सुरक्षित वातावरण दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले नेपाल मेडिकल कलेज आफ्ना स्वास्थ्यकर्मीहरूकाे पेशागत सुरक्षा र व्यवसायिकताका लागि सदैव अगाडी रहने भएकाेले इमान्दारिताका साथ, पेशागत कर्ममा लाग्न अनुराेध गर्नुभयाे ।

कलेजकी निर्देशक डा. नुसरत जहाँ अन्सारीले पनि स्वास्थ्य सेवामा नर्सहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरूको क्षमता विकास र पेशागत सुरक्षाका लागि कलेज सदैव सकारात्मक रहने प्रतिबद्धता जनाउनुभयो । भने, नर्सिङ सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने बताउनु भयाे ।कार्यक्रममा प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठा, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्याय, मेट्राेन नविना सिंह समेतले स्वास्थ्य सेवा विस्तारमा नर्सहरूको योगदानको प्रशंसा गर्दै सम्मान र प्रेरणाको आवश्यकता औँल्याउनुभयो ।सप्ताहव्यापी रूपमा मनाइएको नर्सिङ डे अन्तर्गत चित्रकला, हाजिरीजवाफ, सरसफाइ तथा सचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो । विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने सहभागीहरूलाई सम्मान गरिएको थियो भने नर्सिङ विद्यार्थीहरूले आधुनिक नर्सिङ सेवाकी प्रणेता फ्लोरेन्स नाइटिङ्गेलको योगदान स्मरण गर्दै सेवा, त्याग र समर्पणको भावलाई पुनः सम्झँदै उनकै पदचाप पछ्याउँदै अगाडी बढ्ने प्रण गरे । यता कलेजमा सम्पन्न कार्यक्रममा कलेजका नर्सिङ विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय