Friday 29 May 2026 / शुक्रबार, १५ जेष्ठ २०८३

नेपालका उदीयमान बाल प्रतिभाहरूको आत्मविश्वास, सिर्जनशीलता, प्रतिभा र प्रस्तुतीकरण क्षमतालाई उजागर गर्ने उद्देश्यसहित आयोजित “मिस्टर एन्ड मास्टर नेपाल किड्स इन्टरनेशनल २०२६” को ग्रान्ड फिनाले भव्य तथा आकर्षक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगितामा बेनिका खड्का मिसतर्फको विजेता बन्न सफल भइन् भने इभान घलेले मास्टरतर्फको उपाधि जिते । त्यसैगरी नीति गुरुङ र अंक्रिश श्रेष्ठ क्रमशः मिस तथा मास्टरतर्फ प्रथम रनरअप घोषित भए । बिदिशा रौनियार तथा निर्भिघ्य रत्न बज्राचार्य दोस्रो रनरअप बने भने तृषा श्रेष्ठ र आयुब विक्रम के.सी. तेस्रो रनरअप घोषित भए । त्यस्तै ग्रेहा श्रेष्ठ र स्ताव्य बहादुर रावलले चौथो रनरअपको उपाधि हात पारे ।

प्रतियोगिताअन्तर्गत उपाधि विजेता, पब्लिक च्वाइस विजेता, प्रथम रनरअप तथा भ्यूअर्स च्वाइस विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै पाँच जना विजेताहरूलाई चोको फनको तर्फबाट विशेष गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो । ह्वाइट फेदर्स इन्टरटेनमेन्टद्वारा आयोजित उक्त प्रतिष्ठित कार्यक्रम काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो । कार्यक्रमको व्यवस्थापन शानु खानले गरेका थिए भने फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यले कार्यक्रमलाई भव्य रूपमा सञ्चालन तथा कोरियोग्राफी गरेका थिए ।

पब्लिक च्वाइसतर्फ प्रिशा जोशी विजेता बनिन् भने ग्रेहा श्रेष्ठ, नीति गुरुङ, निर्भिघ्य रत्न बज्राचार्य, तृषा श्रेष्ठ तथा अंक्रिश श्रेष्ठ क्रमशः विभिन्न स्थानका रनरअप बन्न सफल भए । त्यस्तै भ्यूअर्स च्वाइस अवार्ड आराध्या त्रिपाठीले जितिन् भने इभान घले, बेट्टी श्रेष्ठ र ग्रेहा श्रेष्ठ रनरअप घोषित भए । कार्यक्रममा विभिन्न विशेष उपाधिहरू पनि प्रदान गरिएको थियो । व्यवस्थापन छनोटतर्फ सिया सुबेदी मिस व्यवस्थापन च्वाइस तथा स्ताव्य बहादुर रावल मास्टर व्यवस्थापन च्वाइस घोषित भए । प्रतिभा विधाअन्तर्गत बेनिका खड्काले मिस ट्यालेन्ट (सिनियर), आराध्या त्रिपाठीले मिस ट्यालेन्ट (जुनियर), इभान घलेले मास्टर ट्यालेन्ट (सिनियर) तथा निर्भिघ्य रत्न बज्राचार्यले मास्टर ट्यालेन्ट (जुनियर) उपाधि जिते ।

त्यसैगरी बेनिका खड्काले मिस फोटोजेनिक तथा अंक्रिश श्रेष्ठले मास्टर फोटोजेनिकको उपाधि हात पारे । शियेन्द्र थापा र स्ताव्य बहादुर रावल क्रमशः बेस्ट पर्सनालिटी (महिला) तथा बेस्ट पर्सनालिटी (पुरुष) घोषित भए । मिस कन्फिडेन्टको उपाधि बिदिशा रौनियारले जितिन् भने मास्टर कन्फिडेन्ट अंक्रिश श्रेष्ठ बने । उत्कृष्ट प्रस्तुतीकरणतर्फ श्रेयुक्ता न्यौपानेले बेस्ट वाक (महिला) तथा आयुब विक्रम के.सी.ले बेस्ट वाक (पुरुष) अवार्ड जिते । साथै अनाया खत्रीलाई इमर्जिङ यंग स्टार अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा मनोरञ्जन, फेसन तथा सञ्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको निर्णायक मण्डल रहेको थियो । निर्णायकहरूमा अभिनेता तथा कोरियोग्राफर प्रख्यात घिमिरे, अभिनेता सन्तोष बनियाँ, अष्ट्रेलियन चलचित्र क्षेत्रमा सक्रिय मोडल तथा अभिनेत्री श्रास्ता घिमिरे, मिस्टर मोडल इन्टरनेशनल नेपाल २०२६ प्रशन्न राय तथा मोडल, अभिनेत्री एवं सञ्चारकर्मी श्रेया कार्की रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय