Friday 29 May 2026 / शुक्रबार, १५ जेष्ठ २०८३

निलम पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्दै इतिहास रचेकी छन् । सन् २०२६ मे २३ का दिन उनले सगरमाथाको चुचुरोमा पुग्दै नेपालकी पहिलो ट्रान्सजेन्डर महिलाका रूपमा नयाँ कीर्तिमान स्थापित गरेकी हुन् । उनको यो ऐतिहासिक सफलता नेपाली पर्वतारोहण इतिहासका लागि मात्र नभई एलजीबीटीक्यू+ समुदायका लागि पनि गौरव, प्रतिनिधित्व, समावेशिता र आत्मपहिचानको शक्तिशाली प्रतीक बनेको छ । वसन्तकालीन आरोहण सिजनअन्तर्गत नेपाली समय अनुसार बिहान ६ः३५ बजे ८,८४९ मिटर अग्लो सगरमाथाको शिखरमा पुगेकी निलमले अन्य सात आरोहीहरूसँगै विश्वको सर्वोच्च विन्दुमा पाइला टेकेकी थिइन् । उक्त सफल आरोहणको पुष्टि एक्स्पिडिसन्स हाई माउन्टेन प्रालिका प्रबन्ध निर्देशक पेम्बा गेल्जे शेर्पाले गरेका हुन् ।

निलमको यो ऐतिहासिक आरोहणलाई नेपालका नागरिक समाज, युवा समुदाय, मानवअधिकारकर्मी तथा एलजीबीटीक्यू+ अभियन्ताहरूले व्यापक रूपमा स्वागत गरेका छन् । धेरैले यस उपलब्धिलाई केवल खेलकुदीय सफलता नभई सम्मान, पहिचान, समानता र आत्मअस्तित्वको पक्षमा दिएको सशक्त सन्देशका रूपमा व्याख्या गरेका छन् । काठमाडौं फर्किएपछि ३५ वर्षीया निलमले आफ्नो सफलता समाजमा अझै पनि अस्वीकार, विभेद र उपेक्षासँग संघर्ष गरिरहेका सीमान्तकृत समुदायलाई समर्पित गरिन् । नेपालमा कानुनी मान्यता विस्तार हुँदै गए पनि ट्रान्सजेन्डर समुदायले अझै सामाजिक पूर्वाग्रह र संस्थागत चुनौतीहरूको सामना गरिरहनुपरेको अवस्थामा उनको उपलब्धि झन् अर्थपूर्ण बनेको छ ।

यो ऐतिहासिक अभियानलाई एक्स्पिडिसन्स हाई माउन्टेन प्रालिले व्यवस्थापन गरेको थियो भने काठमाडौंको लाजिम्पाटस्थित पाँचतारे होटल दुसित प्रिन्सेस काठमाडौंले आधिकारिक प्रायोजन गरेको थियो । सगरमाथा विजयअघि निलमले सन् २०२५ अगस्टमा ६,४७६ मिटर अग्लो मेरा पिक सफलतापूर्वक आरोहण गरिसकेकी थिइन् । यससँगै उनी नेपालकी उदीयमान पर्वतारोहीका रूपमा स्थापित भइसकेकी थिइन् । पर्वतारोहणबाहेक निलम पौडेल सौन्दर्यकला, फेसन, अभिनय, सञ्चार र सामाजिक अभियन्ताका रूपमा पनि परिचित व्यक्तित्व हुन् । बैंकक, थाइल्यान्डबाट मेकअप आर्टमा प्रशिक्षण प्राप्त गरेकी निलमले नेपालमा मोडलिङ, अभिनय तथा ट्रान्सजेन्डर प्रतिनिधित्व प्रवद्र्धनका क्षेत्रमा सक्रिय योगदान दिँदै आएकी छन् । उनले हाउस अफ फेसन नेपालद्वारा आयोजित प्रतिष्ठित मोडलिङ प्रतियोगिता “इन भोग २०१७” मा सहभागिता जनाएकी थिइन् भने “मिस पिंक २०१६” मा पनि प्रतिस्पर्धा गरेकी थिइन् । साथै, उनी मितिनी नेपालमा मानव संसाधन अधिकृतका रूपमा आबद्ध रहँदै एलजीबीटीक्यू+ समुदायको अधिकार र सशक्तीकरणका लागि कार्यरत छिन् ।

समावेशिता र सशक्तीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित निलमले सन् २०२१ मार्च २७ मा काठमाडौंको ठमेलस्थित क्लब फरेनहाइटमा “निलम्स फेसन रनवे” आयोजना गरेकी थिइन् । “भोलिका लागि एकजुट बनौं, परिवर्तन हामी नै हौं” भन्ने नारासहित सम्पन्न उक्त कार्यक्रमले फेसन क्षेत्रमा ट्रान्सजेन्डर समुदायको प्रतिनिधित्व विस्तार गर्ने उद्देश्य बोकेको थियो । यसअघि निलम सञ्चार क्षेत्रमा पनि सक्रिय थिइन् । उनले हिमालयन न्यूज एक्सप्रेस अनलाइन पोर्टलमा संवाददाताका रूपमा काम गरेकी थिइन् भने भ्लगिङ र डिजिटल कन्टेन्ट निर्माणमार्फत पनि सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएकी छन् ।
निलम पौडेलको सगरमाथा आरोहण आज नेपालको समकालीन सामाजिक इतिहासमा साहस, संघर्ष, आत्मपहिचान र आशाको प्रेरणादायी अध्याय बनेको छ । विश्वको सर्वोच्च शिखरमा पुगेर उनले केवल हिमाल मात्र जितेकी छैनन्, उनले समाजमा अदृश्य बनाइएका असंख्य मानिसहरूको आत्मविश्वास, प्रतिनिधित्व र सम्भावनालाई पनि उचाइमा पु¥याएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय