काठमाडौं, तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत सम्पन्न खेलमा अपी स्कुल र केएमसी स्कुलले लगातार दोस्रो जित हासिल गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्। साथै संस्कृति, विज्डम र अक्षरिका स्कुलले पनि जित दर्ता गरेका छन्।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको दिनको पहिलो खेलमा केएमसी स्कुलले ग्यालेक्सी पब्लिक स्कुललाई ६२ रनले पराजित गर्दै लगातार दोस्रो जितसहित क्वाटरफाइनलमा प्रवेश गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको केएमसीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनायो। बिदान सपकोटाले ५५ बलमा १०५ रनको शतकीय इनिङ्स खेले भने अवियनराज यादवले २४ रनको योगदान दिए।
केएमसीले दिएको १८६ रनको लक्ष्य पछ्याएको ग्यालेक्सी १९.३ ओभरमा १२३ रनमै समेटियो। खुशबेन्द्र साहले ५२ रन र बाइभव नारायण साहले अविजित ३० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। केएमसीका लागि खुशबेन्द्र साहले ३ विकेट लिए भने बिदान लुइँटेल र अमित कुमार दासले २/२ विकेट लिए। बिदान सपकोटा ‘प्लेयर अफ द म्याच’ घोषित भए।
त्यसै मैदानमा अपी स्कुलले ज्ञान मन्दिरलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जितसहित क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। अपीले २० ओभरमा ३ विकेट गुमाएर २६५ रनको विशाल योगफल तयार गर्यो। कुसुम प्रसालले ६७ बलमा १२० रन र युगान्त कार्कीले ३५ बलमा ८२ रन बनाए।
२६६ रनको लक्ष्य पछ्याएको ज्ञान मन्दिर १८ ओभरमा ७४ रनमै समेटियो। अपीका विशाल बुढा र कुसुम प्रसालले २/२ विकेट लिए। कुसुम प्रसाल ‘प्लेयर अफ द म्याच’ घोषित भए।
तल्लो मूलपानी क्रिकेट मैदानमा विज्डम इङ्ग्लिस एकेडेमीले क्लिन्टन स्कुललाई ४१ रनले पराजित गर्यो। विज्डमले २० ओभरमा १० विकेट गुमाएर ९८ रन बनायो भने क्लिन्टन ५७ रनमै अलआउट भयो। आयुष थापाले ७ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे र ‘प्लेयर अफ द म्याच’ बने।
सोही मैदानमा संस्कृति इन्टरनेसनल स्कुलले अक्षरा स्कुललाई ५ विकेटले पराजित गर्यो। अक्षराले दिएको ११५ रन पछ्याएको संस्कृतिले १८.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। खेलमा गेबान्शजंग लामिछानेले अविजित ६४ रनको उत्कृष्ट इनिङ्स खेले र ‘प्लेयर अफ द म्याच’ बने।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्षरिका स्कुलले लिभरपुल सेकेन्डरी स्कुललाई ३७ रनले पराजित गर्यो। अक्षरिकाले दिएको १३८ रनको लक्ष्य पछ्याएको लिभरपुल १८.३ ओभरमा १०० रनमै समेटियो। अक्षरिका आर्यन शाह ‘प्लेयर अफ द म्याच’ बने।
त्यसै मैदानमा द सेलिब्रेसन सहशिक्षा विद्यालय र पिक पोइन्ट एकेडेमीबीचको खेल वर्षाका कारण रद्द भयो। जसको कारण दुवै टोलीले एक–एक अंक बाँडे।
प्रतियोगिताका सबै खेलमा ‘प्लेयर अफ द म्याच’लाई पिक पोइन्टको तर्फबाट नगद रु १ हजार ५ सय प्रदान गरिएको आयोजकले जनाएको छ।
आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि रहेको छ भने सह–प्रायोजकमा ई–सेवा रहेको छ। एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्।


