काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति निर्वाचनका लागि युवा नेतृ प्रकृति ढकालले खुला समूहअन्तर्गत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएकी छ्न । सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आएकी ढकाललाई रास्वपाभित्र नीतिगत विषयमा दक्ष युवा नेतृत्वका रूपमा चिनिन्छ।
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वकीय उपसचिवका रूपमा कार्यरत ढकाल सार्वजनिक नीति, रणनीतिक योजना तथा अन्तरमन्त्रालय समन्वयका क्षेत्रमा काम गरिरहेकी छन्। उनले हालै बेलायतको प्रतिष्ठित शैक्षिक संस्था ‘लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’बाट ‘विश्व स्वास्थ्य नीति’ विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी नेपाल फर्किएकी हुन्। उक्त अध्ययनमा उनले उत्कृष्ट नतिजासहित विशिष्ट श्रेणी हासिल गरेकी थिइन्।
ढकालको व्यावसायिक यात्रा सार्वजनिक स्वास्थ्य, सामाजिक विकास र युवा सशक्तीकरणका क्षेत्रमा केन्द्रित रहेको छ। प्रधानमन्त्री कार्यालयमा जिम्मेवारी सम्हाल्नुअघि उनी ‘युनाइटेड फर इम्प्याक्ट’ नामक गैरनाफामूलक संस्थाकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिइन्। उक्त संस्थामार्फत उनले महिला, युवा तथा सीमान्तकृत समुदायको क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षा तथा सार्वजनिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरेकी थिइन्।
उनको नेतृत्वमा उक्त संस्थाले नेपालका विभिन्न जिल्लामा मात्र नभई बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान तथा इजिप्टमा समेत सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरेको थियो। विशेषगरी स्वास्थ्य सेवामा पहुँच वृद्धि, युवाको स्वास्थ्य सचेतना, महिला नेतृत्व विकास तथा समुदायको सहभागितामा आधारित कार्यक्रमहरू सञ्चालन गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्।
अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उनको संलग्नता उल्लेखनीय रहेको छ। अमेरिकी विदेश मन्त्रालयको सहयोगमा सञ्चालित ‘सीईई यौन तथा प्रजनन स्वास्थ्य अधिकार नवप्रवर्तन केन्द्र’की संस्थापकका रूपमा उनले दक्षिण तथा मध्य एसियाका विभिन्न मुलुकमा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कार्यक्रमहरूको नेतृत्व गरेकी थिइन्। यस क्रममा उनले सरकारी निकाय, नागरिक समाज, अनुसन्धानकर्ता तथा युवाहरूबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्दै नीति निर्माण र क्षमता विकासका कार्यक्रम सञ्चालन गरेकी थिइन्।
सार्वजनिक नीति र संसदीय अभ्याससँग पनि ढकालको लामो सम्बन्ध रहेको छ। पोखरास्थित ‘पोखरा रिसर्च सेन्टर’मा कार्यक्रम अधिकृतका रूपमा कार्यरत रहँदा उनले गण्डकी र कर्णाली प्रदेशका युवा तथा सांसदहरूलाई लक्षित गर्दै संसदीय सहयोग कार्यक्रम सञ्चालन गरेकी थिइन्। उक्त कार्यक्रममार्फत युवाहरूलाई प्रत्यक्ष रूपमा सांसदहरूसँग काम गर्ने अवसर प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी युवाहरूले कानुन निर्माण प्रक्रिया, सार्वजनिक नीति, सामाजिक सुरक्षा तथा श्रम बजारसम्बन्धी विषयमा व्यावहारिक अनुभव हासिल गरेका थिए।
यस अवधिमा उनले सामाजिक सुरक्षा प्रणाली, श्रम बजार सुधार, युवाको रोजगारी, सार्वजनिक सेवा प्रवाह तथा नीतिगत सुधारसँग सम्बन्धित विभिन्न अनुसन्धान तथा विश्लेषणमा समेत योगदान दिएकी थिइन्। नीति अनुसन्धान र सार्वजनिक क्षेत्रबीच समन्वय स्थापित गर्न सक्ने युवा विज्ञका रूपमा उनले आफ्नो परिचय स्थापित गरेकी छन्।
रास्वपासँग उनको सम्बन्ध पार्टी स्थापनाकालदेखि नै जोडिएको छ। पार्टी गठनको सुरुवाती चरणदेखि नै उनी विभिन्न अभियान, नीति बहस तथा निर्वाचन तयारीमा सक्रिय रूपमा सहभागी हुँदै आएकी थिइन्। पार्टीको अर्थनीति तथा सुशासनसम्बन्धी विषयमा हुने छलफलहरूमा समेत उनको सक्रिय सहभागिता रहँदै आएको छ। पार्टीका विभिन्न नीतिगत दस्तावेज, अवधारणापत्र तथा कार्यक्रम निर्माणमा समेत उनले योगदान पु¥याएकी थिइन । उनले गत संघिय चुनावको रास्वपाको घोषणा पत्र लेखन कार्यमा पनि योगदान पुर्याएकि थिइन ।
गत संघीय निर्वाचनका क्रममा उनले अभियान व्यवस्थापकको जिम्मेवारी सम्हालेकी थिइन्। निर्वाचन अभियानका दौरान उनले केन्द्रीय तहमा मात्र होइन, विभिन्न निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारहरूलाई प्रत्यक्ष सहयोग गरेकी थिइन्। स्वयंसेवक परिचालन, अभियान व्यवस्थापन, मतदातासँगको सम्पर्क विस्तार तथा रणनीतिक समन्वयमा उनले सक्रिय भूमिका खेलेकी थिइन्। निर्वाचन अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन उनले महत्वपूर्ण योगदान पु¥याएको पार्टीका कार्यकर्ताहरू बताउँछन्।
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर उनले अन्तरमन्त्रालय समन्वय, नीतिगत तयारी, रणनीतिक योजना निर्माण तथा प्रशासनिक सहकार्यका क्षेत्रमा काम गरिरहेकी छन्। विभिन्न मन्त्रालयबीच समन्वय स्थापित गर्ने, नीतिगत प्राथमिकता तय गर्ने तथा कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउने कार्यमा उनको संलग्नता रहेको छ।
शैक्षिक रूपमा पनि ढकालको पृष्ठभूमि बलियो मानिन्छ। उनले ‘लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’बाट विश्व स्वास्थ्य नीतिमा स्नातकोत्तर, ‘वेस्टक्लिफ विश्वविद्यालय’ तथा ‘किङ्स कलेज’बाट गैरनाफामूलक व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत गण्डकी मेडिकल कलेजबाट मेडिकल इमेजिङ प्रविधिमा स्नातक अध्ययन पूरा गरेकी छन्। सार्वजनिक स्वास्थ्य, व्यवस्थापन, नीति निर्माण र नेतृत्व विकाससम्बन्धी विषयमा हासिल गरेको शैक्षिक ज्ञानलाई उनले व्यवहारिक कार्यक्षेत्रमा समेत सफलतापूर्वक प्रयोग गर्दै आएकी छन्।
रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेसँगै ढकालले आफूलाई केवल संगठनात्मक कार्यकर्ताका रूपमा मात्र नभई नीति, अनुसन्धान, सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा र सुशासनका मुद्दामा काम गर्ने युवा नेतृत्वका रूपमा प्रस्तुत गरेकी छन्। युवा पुस्ताको प्रतिनिधित्व, नीतिगत दक्षता र अन्तर्राष्ट्रिय अनुभवलाई पार्टीको नेतृत्व तहमा स्थापित गर्ने उद्देश्यसहित उनले उम्मेदवारी दिएको उनका निकटवर्तीहरू बताउँछन्। उनले जेन्जी आन्दोलन पछि नेपालको पुर्व देखि पस्चिम सम्म संवाद यात्रा समेत गरेकि थिएन ।
रास्वपाभित्र नयाँ पुस्ताको नेतृत्व विकास, नीतिगत बहसको विस्तार र सुशासनको एजेन्डालाई संस्थागत बनाउने प्रयास भइरहेका बेला प्रकृति ढकालको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सार्वजनिक स्वास्थ्यदेखि नीति निर्माणसम्मको अनुभव बोकेकी ढकालको उम्मेदवारीले पार्टीभित्र युवा, अध्ययनशील र नीतिमुखी नेतृत्वको प्रतिनिधित्व थप बलियो बनाउने अपेक्षा गरिएको छ।


