युवती तथा महिलाको अन्तर्निहित प्रतिभा, क्षमता र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘क्यापिटल क्विन नेपाल २०२६’ को दसौँ संस्करणको उपाधि अनिशा खड्काले जितेकी छन्। हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा सम्पन्न प्रतियोगितामा अनिता थापा अर्याल प्रथम उपविजेता तथा अस्मिता तिमल्सिना द्वितीय उपविजेता घोषित भए। विभिन्न पेसा तथा क्षेत्रसँग आबद्ध विवाहित र अविवाहित महिलाहरूको सहभागिता रहेको प्रतियोगितामा सहभागीहरूलाई करिब तीन सातासम्म सघन प्रशिक्षण प्रदान गरिएको थियो। वरिष्ठ फेसन कोरियोग्राफर हिमानी सुब्बाको निर्देशनमा व्यक्तित्व परिष्कार, प्रभावकारी संवाद, मञ्चीय प्रस्तुति, क्याटवाक, फोटो तथा भिडियो सुटिङसँगै आकर्षक उद्घाटन नृत्यमा समेत प्रशिक्षण दिइएको थियो। विभिन्न चरणमा प्रस्तुत गरिएको प्रदर्शन र अन्तिम प्रश्नोत्तरबाट सहभागीहरूको समग्र क्षमता मूल्याङ्कन गरी विजेता तथा उपविजेताको छनोट गरिएको थियो।

मुख्य उपाधिसँगै प्रतियोगिताले सहभागीहरूको विशिष्ट क्षमता र विशेषतालाई लक्षित गर्दै विभिन्न विधागत सम्मानसमेत प्रदान गरेको थियो। मिमिता थापाले ‘मोस्ट स्मार्ट’, अस्मिता तिमल्सिनाले ‘मोस्ट एक्टिभ’, अनिशा खड्काले ‘मोस्ट डाइनामिक’ तथा अनिता थापा अर्यालले ‘मोस्ट कन्फिडेन्ट’को उपाधि हासिल गरे। नविना कुमारी ओलीले ‘बेस्ट फोटोजेनिक’ तथा ‘मोस्ट पपुलर’, प्रेमीशा गजमेरले ‘बेस्ट ट्यालेन्ट’, पवित्र गोलेले ‘बेस्ट पर्सनालिटी’, अञ्जना श्रेष्ठले ‘मोस्ट चार्मिङ’, सबिता तोलानीले ‘मोस्ट डेडिकेटेड’ तथा प्रविना कुमालले ‘मोस्ट डेलिजेन्ट’ र ‘बेस्ट मल्टिमिडिया’को उपाधि प्राप्त गरे।
प्रतियोगिताको निर्णायक मण्डलमा मिसेस ग्लोबल नेपाल २०२६ सब्या महर्जन, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा, क्यापिटल क्विन नेपाल २०२३ लक्ष्मी भुसाल, मिस्टर ह्यान्डसम नेपाल तथा मोडल अभिषेक खड्का र अभिनेत्री गीता अधिकारी रहेका थिए। सौन्दर्य, फेसन, मोडलिङ तथा मनोरञ्जन क्षेत्रमा अनुभव हासिल गरेका निर्णायकहरूको मूल्याङ्कनले प्रतियोगीहरूको व्यक्तित्व, प्रस्तुति, आत्मविश्वास तथा समग्र क्षमताको परीक्षण गरेको थियो।
क्यापिटल क्विन नेपालले सौन्दर्य प्रतियोगितालाई बाह्य आकर्षणको दायराभन्दा पर विस्तार गर्दै व्यक्तित्व, प्रतिभा, बौद्धिकता, प्रस्तुति क्षमता र आत्मविश्वासलाई समान महत्व दिने मञ्चका रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको छ।


